मंगलबार, वैशाख ११, २०८१

एक सातामा खरबपतिबाट दिवालिया

नेपालखोज २०७९ मंसिर २८ गते ६:११

काठमाडाैं । क्रिप्टोकरेन्सी फर्म एफटीएक्सका पूर्व सीईओ साम बैंकम्यान फ्राइड बहामासमा पक्राउ परेका छन् । अमेरिकी सरकारको अनुरोधमा बहामासका अधिकारीहरूले उनलाई पक्राउ गरेका हुन्। बैंकम्यान फ्राइडविरुद्ध अमेरिकामा फौजदारी मुद्दा दायर भएको छ । अमेरिकी अधिवक्ता डेमियन विलियम्सले यस विषयमा सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् ।

गत महिना नोभेम्बर ११ मा उनीहरूको कम्पनी एफटीएक्सले दिवालियापन घोषणाका लागि निवेदन दर्ता गरेपछि बैंकम्यान फ्राइड विरुद्ध आपराधिक अनुसन्धान सुरु भयो । उनीविरुद्धको आरोपपत्र हेरेपछि मात्र यस विषयमा थप जानकारी दिन सकिने विलियम्सले बताएका छन । अर्कातर्फ बहामासका महान्यायाधिवक्ता रायन पिन्डरले अमेरिकाबाट औपचारिक अनुरोध आएपछि सुपुर्दगीको प्रक्रिया सुरु गरिने बताए ।

यद्यपि, बैंकम्यान फ्राइडले आफ्नो प्रत्यर्पण विरुद्ध अपील गर्न सक्छन । एफटीएक्सको मुख्यालय बहामासमा छ। कम्पनी दिवालिया भएपछि , बैंकम्यान-फ्राइड नासोको आफ्नो विलासी घरमा बस्थे । एक दिन अघि, उनले अमेरिकी सिनेटको वित्तीय सेवा समितिमा बयान दिनु थियो। यद्यपि उनी त्यहाँ देखा परेनन् । समितिका अध्यक्ष, कांग्रेसवुमन म्याक्सिन वाटर्सका अनुसार अमेरिकी जनताले बैंकम्यान फ्राइडले आफ्नो बयान दिने अवसरलाई अस्वीकार गरेकोमा उनी निराश थिए। क्रिप्टोकरेन्सी फर्म एफटीएक्स दिवालिया हुनु अघि, बैंकम्यान-फ्राइड संसारकै सबैभन्दा धनी व्यक्तिहरू मध्ये एक थिए। कागजमा उनको सम्पत्ति ३२ बिलियन अमेरिकि डलर भन्दा बढी थियो ।

उनी अमेरिकाको राजधानीका एक चर्चित व्यक्तित्व थिए । उनी प्रजातान्त्रिक पार्टी र वामपन्थी गतिविधिलाइ ठूलो चन्दा दिने काममा समेत परिचित थिए। विभिन्न पत्र-पत्रिकाले उनको अन्तर्वार्ता लिने गर्दथे ।एफटीएक्स छोटो समयमै ठूलो कम्पनी बनेको थियो । यो विश्वको दोस्रो ठूलो क्रिप्टो एक्सचेन्ज भएको थियो। ३० वर्षीय साम बैंकम्यान फ्राइडलाई ‘क्रिप्टोको राजा’ समेत भनिन्थ्यो तर, आठ दिनमै यो कम्पनी आकाशबाट जमिनमा आइपुग्यो । एक अनुमान अनुसार १.२ मिलियन मानिसले एफटीएक्समा खाताहरू सिर्जना गरेका थिए जुन तिनीहरूले क्रिप्टोकरन्सीहरूमा लगानी गर्न प्रयोग गरे।लगानी कम्पनी सेकोइया क्यापिटलले एफटीएक्समा अर्बौं लगानी गरेको थियो । बैंकम्यान-फ्राइड अमेरिकाको प्रतिष्ठित म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटि) का पूर्व छात्र हुन्।

भौतिकशास्त्र र गणित पढेपछि, उनले बैंकिङमा करियर बनाउने निर्णय गरे र सेयर बजारमा हात हाल्ने प्रयास गरे। न्यूयोर्कस्थित कम्पनी जेन स्ट्रिटमा काम गरेपछि उनी बिटक्वाइनतर्फ लागे । त्यसपछि उनले एफटीएक्सको स्थापना गरे, जहाँ मानिसहरूलाई क्रिप्टोकरन्सीहरूमा लगानी गर्न प्लेटफर्म दिइयो। एफटीएक्सको आकार बढदै गयो र लाखौं मानिसले त्यहाँ खाता सिर्जना गरे। त्यसमा दैनिक १०–१५ अर्ब डलरको व्यापार भैरहेको थियो । साम बैंकम्यान फ्राइड आधिकारिक रूपमा २०२१ मा अर्बपति बने। अमेरिकाको एनबीएटी स्टेडियम पनि उनको कम्पनीको नाममा राखिएको थियो। सामाजिक सञ्जालमा उनले आफ्नो छवि रमाइलो गर्ने व्यक्तिका रूपमा बनाएका थिए । यो वर्षको सुरुमा, उनले ट्विटरमा लेखेका थिए, ‘म अधिकतर बीन (झोला)मा सुत्छु ।’

तर यो वर्षको सुरुमा क्रिप्टोकरेन्सीको मूल्य घट्न थाल्यो र अहिलेसम्म यो गिरावट जारी छ। यो गिरावटको परिणाम एफटीएक्सका लगानीकर्ताहरूको विश्वास पनि डगमगाउन थाल्यो। उनीहरूले आफ्नो पैसा फिर्ता लिन थाले र त्यहाँ एउटा यस्तो बिन्दु आयो जब एफटीएक्स ले लगानीकर्ताहरूको पैसा फिर्ता गर्न पैसा छैन भन्यो। नोभेम्बरमा फ्राइडले आफ्नो कम्पनी र लगानीकर्ताहरूलाई मद्दत गर्न पैसा उठाउने प्रयास गरे तर असफल भए। एफटीएक्सको पतन तब सुरु भयो जब वाल स्ट्रीट जर्नलमा एउटा रिपोर्ट प्रकाशित भयो । जसमा लेखिएको थियो – एफटीएक्सका ग्राहकहरुको निक्षेप अर्को व्यापारका लागि ऋणका रूपमा प्रयोग गरिएको थियो।

त्यसपछि, एफटीएक्स को प्रतिद्वन्द्वी कम्पनी Binance ले एफटीएक्स सँग सम्बन्धित आफ्ना सबै क्रिप्टो टोकनहरू बेच्यो । त्यसपछि लगानीकर्ताहरूमा त्रास फैलियो र एफटीएक्स तासको घर जस्तै गर्ल्यामगुर्लुम भत्कियो। बैंकम्यान फ्राइडले जानाजानी आफ्ना ग्राहकहरूको पैसा दुरुपयोग नगरेको बताएका छन । अमेरिकी अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। अब बहमासकन अधिकारीहरूले पनि यो मामिलामा अनुसन्धान सुरु गरेका छन्। बहामासका प्रधानमन्त्री फिलिप डेभिसले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “बहामास र अमेरिकी अधिकारीहरू दुवै एफटीएक्ससँग सम्बद्ध र सार्वजनिक विश्वासको उल्लङ्घन गर्नेहरूलाई जवाफदेही बनाउन चाहन्छन् । स्रोत: रोयटर्स

प्रतिक्रिया