नयाँ खेलसँगै, महिला खेलाडीलाई प्राथमिकता

काठमाडौं । विभिन्न खेलका छुट्टाछुट्टै र सामूहिक प्रतियोगिता त सामान्य रुपमा सधैं भई नै रहन्छन् । यी सबै खेल, खेलाडी र आयोजकको एक मात्र उद्देश्य र लक्ष्यको निर्धारण हुन्छ- ओलम्पिकको यात्रा । त्यसमा सहभागिता अनि पदक ।
खेलको महाकुम्भका रुपमा चिनिने ओलम्पिक हरेक चार वर्षमा हुने गर्छ । नियमित कार्यतालिकाअनुसार गत वर्ष नै हुनुपर्ने टोकियो ओलम्पिक कोभिड-१९ का कारण २०२१ का लागि धकेलियो । एक वर्ष पछाडि धकेलिएको टोकियो ओलम्पिक यो वर्षको जुलाई २३ देखि ८ अगस्तसम्मलाई तोकिएको छ । तर खेल औपचारिक उद्घाटनभन्दा दुई दिन पहिले अर्थात् २१ जुलाईका दिन जापानको फुकुसिमामा हुनेछ ।
यो वर्ष टोकियो ओलम्पिकमा ३३ खेलमा तीन सय ३९ पदकका लागि प्रतिस्पर्धा हुनेछ । पहिलो पदक समारोह २४ जुलाईमा हुनेछ । कोभिड-१९ का कारण एक वर्ष पछि सारेको टोकियो ओलम्पिक यस वर्ष सञ्चालन हुनेमा पनि विभिन्न आशंका गरिएको थियो । तर जापान सरकार र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले विभिन्न पक्षलाई मध्यनजर गर्दै खेल आयोजनाको अनुमति प्रदान गरिसकेको छ । यद्यपि जापानबाहेकका दर्शकले भने खेलको प्रत्यक्ष आनन्द लिन भने पाउने छैनन् । जापानले यसअघि १९६४, १९७२ र १९८८ मा गरी तीनपटक ओलम्पिकको आयोजना गरिसकेको छ ।
टोकियोमा हुन गइरहेको ओलम्पिकको मस्कट शुभंकर को ‘मिराइतोवा’ र ‘सोमाइटी’ नाम दिइएको छ । यसलाई जापानका इडिगो ब्लू रङको पेन्टरले दिएका हुन् । यसले जापानको संस्कृतिमा परम्परा र आधुनिकता दुवैको प्रतिनिधित्व गर्ने गर्छ । ‘मिराइतोवा’ जापानी भनाइबाट प्रेरित छ । जापानी शब्दमा ‘मिराइतोवा’मा ‘मिराइ’को अर्थ ‘भविष्य’ र ‘तोवा’ को अर्थ ‘अन्त’ काल हुन्छ ।
टोकियो ओलम्पिकमा खेलाडीलाई दिने पदक पुराना इलेक्ट्रोनिक सामान र फोनबाट बनाइएको हो । यसका लागि आयोजकले २०१७ को फेब्रुअरीमा जापानीलाई इलेक्ट्रोनिक सामान र फोन दान गर्न अपिल गरेको थियो । २०१० को बैंकुवरमा आयोजित ओलम्पिकमा पनि इलेक्ट्रोनिक सामानको प्रयोग गरिएको थियो । यसपटक पदकको पछाडिको भागमा टोकियो ओलम्पिकको लोगो रखिएको छ भने आगाडिको भागमा स्टेडियमको तस्बिरसँगै विजयको प्रतीक मानिने ग्रिक देवी नाइकलाई राखिएको छ ।
ग्रिसको प्राचीन ओलम्पिया पवित्रस्थल हेरा मन्दिरमा गत वर्षको मार्च १२ तारिखमा ओलम्पिक मसाल जलाइसकेको छ । यसपछि पैनाथेनिक स्टेडियममा एक समारोहबीच मसाल जापानलाई सुम्पिएको छ । टोकियो ओलम्पिकको मसाल रिले जापानममा २५ मार्चदेखि सुरु भएर जुलाई २३ मा समापन हुनेछ ।
मसाल रिले २०११ को सुनामीको सिकार भएको फुकुसीमा प्रान्तको विलेन नेसनल ट्रेनिङ सेन्टरमा सुरु हुनेछ र एक सय २१ दिनसम्म चल्नेछ । यस समय यो जापानको ४७ प्रान्तको भ्रमण गर्नेछ । कोभिड–१९ का कारण मसालको रिले समारोहमा दर्शकलाई सहभागी भने गराइने छैन । टोकियो ओलम्पिकको मुख्य वेबसाइटमा यसको प्रत्यक्ष प्रसारण गरिनेछ ।
यसपटक टोकियो ओलम्पिकमा पाँच नयाँ खेललाई समावेश गरिएको छ । सर्फिग, स्केटबोडिङ, स्पोटर्स क्लाइम्बिङ, कराते र बेसबल समावेश गराइएको छ । यति मात्रै होइन बेसबल पुरुष र सफट्बल महिला ओलम्पिकमा पुनः खेलाइनेछ । टेबल टेनिस २०२० टोकियो ओलम्पिकमा मिक्सड डबल जोडिएको हो ।
जुडो १९६४ मा पहिलोपटक ओलम्पिकमा समावेश गरिएको थियो । तर यसपटक मिक्सड टिममा रहेको छ । यो वर्ष पौडीमा नयाँ परिवर्तन गरिएको छ । यो वर्ष ८ सय मिटरको दौडमा पुरुष खेलाडीलाई समावेश गरिएको छ । जबकि १५ सय मिटरको इभेन्टमा महिला प्रतियोगीलाई सहभागी गराइनेछ ।
रियो ओलम्पिकमा वाटर पोलो खेलमा ८ महिला टिम पहिलोपटक सहभागी भएका थिए । टोकियो ओलम्पिकमा दुई टिम थप गरिएको छ ।
२०२० को टोकियो ओलम्पिकममा क्याक म्याराथनमा पनि तीन इभेन्ट बढाएर पुरुष खेलबाट तीन इभेन्ट कटौती गरीएको छ । महिला इभेन्टमा क्याक सिंगल २०० मिटर र क्याक इबल ५०० मिटर इभेन्टलाई जोडिएको छ ।
रोइंग खेलमा पुरुषको चार इभेन्ट हटाएर महिलाका लागि चार इभेन्ट थप गरिएको छ । सन् १९६६ को ओलम्पिकपछि पहिलोपटक यस वर्ष रोइंग कार्यक्रम पनि परिवर्तन गरिएको हो ।
आर्चरी सन् १९७२ मा सामेल गरिएको थियो । यो खेल यसपटक मिक्स टिम इभेन्टमा सामेल गरिएको छ ।
टोकियो ओलम्पिकमा बक्सिङमा ३ बाट बढाएर ५ महिला खेलाडी पुर्याइएको छ । तर पुरुष खेलाडीको संख्यामा भने कटौती गरिएको छ । पुरुष खेलाडीको संख्या १० बाट घटाएर ८ मा झारिएको छ । यो फैसला लैंगिक समानतालाई ध्यानमा राखेर गरिएको हो ।
टोकियो ओलम्पिक हुने निश्चित भइसकेको छ । खेल सुरु हुन केही दिन मात्रै बाँकी रहँदा जापानबाहिरका खेलप्रेमी दर्शक भने केही निराश हुने देखिन्छ । कारण हो- अन्तर्राष्ट्रिय खेलप्रेमी टीभीको स्क्रिनमा मात्रै सीमित हुनुपर्नेछ ।
टोकियो ओलम्पिकको मज्जा केवल स्थानीय दर्शकले मात्रै प्रत्यक्ष रुपमा लिन पाउनेछन् । तर उनीहरूलाई समेत कोभिड-१९ प्रोटोकलको बन्धनले कसेर बाँध्नेछ । प्रत्यक्ष रुपमा सहभागी हुने दर्शकलाई कडाइका साथ नियम नै नियमले बाँधिएको छ । गाउन, नाच्न वा खुलेर रमाइलो गर्न बन्देज लगाइएको छ ।
यो वर्ष अन्तर्राष्ट्रिय स्वयं सेवक पनि आउन नपाउने भएका छन् । यसको अर्थ नेपालले पनि आफ्ना ओलम्पिक कर्मचारी कटौती गर्नुपर्नेछ । खेलाडीले जापान पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्नुपर्नेछ । सीधा प्रशिक्षणमा जान दिइने छैन । उनीहरूसँग कोभिड-१९ नेगेटिभ रिपोर्ट अनिवार्य हुनुपर्नेछ ।
खेलाडीको हरेक चौथो दिन कोभिड परीक्षण गर्नुपर्नेछ । यसमा कोही पोजेटिभ भेटिए उसलाई प्रतिस्पर्धामा सहभागी गराइने छैन । परीक्षण कतिपटक गर्ने भन्ने नियम भने परिवर्तन पनि हुनसक्नेछ ।
खेलाडीले अनिवार्य रुपमा कोरोनाको खोप लगाउनुपर्नेछ । खेलाडीलाई पर्यटन क्षेत्र, रेस्टुरेन्ट, बारलगायत क्षेत्रमा प्रतिबन्ध लगाइएको छ ।
प्रतिक्रिया