‘खर्च गर्न नसक्ने महत्त्वाकांक्षी बजेटको माग नगरौं’

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा कार्यान्वयन हुनसक्ने बजेटको मात्र माग गर्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । नेपालमा खर्च गर्न नसकेर बजेट फ्रिज हुने समस्याका कारण पौडेलले यस्तो बताएका हुन् ।
उनले कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्रै प्रस्ताव गरी बजेटलाई चुस्त दुरुस्त बनाउन आग्रह गरेका हुन् र
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले भने ‘खर्च हुन नसक्ने भएकाले सरेन्डर गर्नुपर्ने अवस्था पनि रहेको छ,’ उनले थपे , ‘बहुवर्षीय योजनाहरूमा पनि जति खर्च गर्ने हो, त्यहीअनुसार बजेट राख्न आग्रह गर्छु ।’
सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने बताउँदै अर्थमन्त्रीले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताए । उनले प्राथमिकताका आधारमा कार्यक्रमहरू प्रस्ताव गर्नसमेत आग्रह गरे । ‘कोभिड m१९ ले पर्यटन क्षेत्रमा पारेको प्रभावलाई बजेट र नीतिमार्फत सम्बोधन गर्नुपर्नेछ,’ उनले भने, ‘सोहीअनुसार बजेट प्रस्ताव गर्नुहोस् ।’
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गरे । उनले यस क्षेत्रको पुनरुत्थान हुने गरी बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरू र सरोकारवालासँग छलफल गरिरहेको छ । सोहीक्रममा बिहीबार पर्यटन मन्त्रालयसँग छलफल गरेको हो । सोही अवसरमा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा। प्रकाशकुमार श्रेष्ठले साना कार्यक्रमहरूभन्दा संघीयताको मर्म र भावनाअनुसार ठूला र विशेष कार्यक्रममा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया