बिहीबार, वैशाख १३, २०८१

आगो बर्सिरहेको समय छेउ

नेपालखोज २०७७ चैत २१ गते ८:१३

चुहिने भाँडोमा बोकेर विचार
उनीहरू
क्षितिजमा सुनौलो घाम देखाइरहेछन्
फिक्का हुँदै गएको
रगतले लतपतिएको झन्डा उचालेर
सडक/चोक जताततै
अट्हास हाँसो हाँसिरहेछन्
जिन्दावाद भनिरहेछन्
मुर्दावाद फलाकिरहेछन्
मरेर गएकाहरूको
ज्युँदो सपनामाथि टेकेर
आगत समयको तर्पण गरिरहेछन्
लय हराएर वेदका ऋचाहरू बाट
केवल स्तुतिको भक्तिगान सुनिन थालेका बेला हो यो
मान्छेलाई देवत्वमा अनूदित गरेर
आस्थाको भ्रमित भजन गाउँदैमा
मान्छे कहिल्यै भगवान् बन्‍न सक्दैन ।
लय नमिलेको धूनमा
शब्दहरू थोपरेर उच्चारण गर्दैमा
गीत बन्न सक्दैन ।

थुक्नु हुन्न थियो ऐनाअघि उभिएर
तिम्रै अनुहार जो लतपत देखिरहेछु छायामा
छिद्र बनेर मस्तिष्क
जहाँबाट प्रतिशोधको र्‍याल चुहिँदै छ
आँखाले दूरी ठम्याउन नसकेपछि
आफ्नाहरू पनि बिरानो लाग्न थालेको बेला हो यो
मनभित्र अहम् र द्वन्द्व भरिएपछि
होस् हराएर मान्छेहरू बेहोस् बन्दारहेछन् ,
सडक/किनार जतासुकै
बर्बराउन थाल्दो रहेछ समय,
चिथोरेर आफ्नै चेतनालाई
रगतपच्छे बनाएपछि
मान्छे शरीरले उभिएक‍ो देखिए पनि
कुरूप र विच्छिप्त लाग्दोरहेछ
संयममता निख्रिएर क्रोधले टुप्पी नाघेपछि
आफ्नै आत्मीयहरूमाथि
आगो बर्साउन थाल्दारहेछन्
नाता /सम्बन्धहरू बिर्सिदारहेछन्
भूलेर आफ्नै परिचय
कोही अरू अपरिचितहरूको अनुहारमा
आफ्नो परिचय खोज्न थाल्दारहेछन् ।

आफ्नै घर पोलेर आगोमा
आङ नसेकाउनु थियो यो बेला
नखेल्नु थियो
छोरा हराएका आमाहरूको संवेदनामाथि
घाम त लागेकै हो
उज्यालो थियो
थियो तातो पनि
टाँगेर आकाशको बार्दलीमा कालो पर्दा
तिमी आफैंले नै हो उज्यालो छेकेको
तिमीले नै हो चिसो पोतेको
नसराप्‍नु कसैलाई अब
नलगाउनु धारे हात पनि
त्यही चिसोबाट खिया उठ्न थालेको बेला हो यो
फलामले बनेको तिम्रो आदर्श शरीर
जीर्ण बनेर कुनै दिन
पुरानो महलको निदाल ढले झैं
आफ्नै विचारको मझेरीमा ढुन्मुनिनेछ
त्यतिबेला तिम्रो शोकमा आँसु झार्ने
खोला छेउको बगरबाहेक
अरू कोही हुनेछैन ।

प्रतिक्रिया