राष्ट्रपतिलाई खनालले भने- आफ्नो स्वास्थ्यभन्दा कम्युनिस्ट आन्दोलनको चिन्ता छ

नेपालखोज २०७७ चैत २१ गते १८:४३

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग भेटवार्ता गरेकि छन् । शनिबार दिउँसो डल्लु स्थित खनालको निवासमा पुगेर राष्ट्रपति भण्डारीले खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकि हुन् । भेटमा आफ्नो स्वस्थ्य प्रति पनि राष्ट्रपति भण्डारीले चिन्ता व्यक्त गरेको खनालले बताए । तर आफूले आफ्नो स्वास्थ्य भन्दापनि पार्टी र कम्युनिस्ट आन्दोलनको बारेमा चिन्ता लागेको कुरा राखेको बताए । उनले भने ‘हाम्रो आफ्नो व्यक्तिगत स्वास्थ्यको बारेमा मलाई चिन्ता होइन चिन्ता चाहिं पार्टीको बारेमा लागेको छ, कम्युनिस्ट आन्दोलनको स्वास्थ्यको बारेमा चिन्ता छ ।’

भेटमा अहिलेको समसामयिक राजनीतिक परिस्थितिको विषयमा समेत कुराकानी भएको पूर्वप्रधानमन्त्री खनालले बताए । खासगरी राष्ट्रपति भण्डारी खनालको छिमेकी इतिहास संशोधन मण्डलका अध्याता एवं पर्वद्धकहरु दिनेश पन्त र महेश पन्तको घरमा पुगेको र सोही क्रममा आफ्नो घरमा समेत भेट्न आएको खनालले बताए ।

भेटमा राष्ट्रपति भण्डारीले पार्टीमा देखिएको विवाद समाधान भएर जाओस भन्ने चाहना रहेको बताएको पनि पूर्वप्रधानमन्त्री खनालले बताए । उनले भने ‘हामीले एकछिन भलाकुसारी गर्‍यौं । विगतका कुराहरु पनि हामीले गर्‍यौं । अहिलेको वर्तमान स्थितिको बारेमा पनि अलिकति कुराकानी गर्‍यौं । उहाँले पार्टी आन्दोलन एकतावद्ध भएर जाओस, लोकतन्त्र राम्रो भएर जाओस, सुदृढ भएर जाओस, मेरो राष्ट्रपतिको हैसियतले यही चाहना छ भन्ने कुराहरु व्यक्त गरे ।’

पार्टी बलियो नभईकन लोकतन्त्र बलियो हुँदैन त्यसकारण कसरी पार्टीलाई बलियो बनाउने भन्ने कुरामा म पनि सोचिरहेको छु । राष्ट्रपतिज्यूले पनि के भन्नुभयो भने तपाईले भनेजस्तो लोकतन्त्र बलियो बनाउनलाई पार्टीहरु नै बलियो हुनुपर्छ । सबै पार्टीहरु बलिया हुन, एकीकृत पार्टी पनि सकेसम्म नफुटोस र नेकपा एमाले पनि बलियो होस भन्ने नै मेरो चाहना रहेको हो । तपाईहरु अहिले पनि सकेसम्म मिलेर जानुहोस भन्ने सुझाव दिनुभयो ।’

प्रतिक्रिया