मेयर वुमन्स च्याम्पियनसिप : सुदूरपश्चिमद्वारा ललितपुर पराजित

काठमाडौं । मेयर वुमन्स च्याम्पियनसिप–२०७७ टि२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले ललितपुरलाई पराजित गरेको छ । सुदूरपश्चिमले ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
जितको लागि १ सय ८ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । सुदूरपश्चिमकी युवा आक्रामक ब्याटर डली भट्ट १४ बलमा २ चौका र १ छक्का सहित २२ रनमा अविजित रहिन् । कविता जोशी १० बलमा १ छक्का सहित १० रनमा अविजित रहिन् । १९ औं ओभरको अन्तिम बलमा सुमन खतिवडालाई कविता जोशीले छक्का प्रहार गर्दै सुदूरपश्चिमको सहज जित पक्का गरिन् ।
विकेटकिपर मञ्जु बोगटी ४२ बलमा ६ चौका सहित सर्वाधिक ४१ रन बनाइन् । रेवती धामी १८ र कविता कुँवर ९ रनमा आउट भइन् । ललितपुरकी सुमन खतिवडा र आरति विडारीले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको ललितपुर मेयर ११ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो । ललितपुरकी शीर्षक्रमकी ब्याटर कञ्चन श्रेष्ठ ५६ बलमा ८ चौका ६३ रनमा अविजित रहिन् । कन्चनले ४९ बलमा अर्धशतक पूरा गरेकी थिईन् ।
सुदूरपश्चिमका कविता कुँवर, ऋतु कनोजियाले र सम्झना खड्काले १–१ विकेट लिइन् । सुदूरपश्चिमले आफ्नो दोस्रो खेलमा आइतबार एपिएफसँग खेल्ने छ । ललितपुरले आइतबार लुम्बिनी प्रदेशसँग खेल्ने छ ।
प्रतिक्रिया