मंगलबार, वैशाख ३०, २०८२

एपिएफमाथि पुलिसको रोमाञ्चक जित

नेपालखोज २०७७ चैत २१ गते २०:२७

काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ संस्करणको आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कर्भडहलमा शनिबार भएको डर्बी भिडन्तमा पुलिसले एपीएफलाई ३-२ को सेटमा पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती दुई सेट एपीएफले २५-२० र ३०-२८ ले जितेको थियो ।

तर, त्यसपछिका सेटमा भने पुलिसले उत्कृष्ट पुनरागमन गर्यो । पुलिसले तेस्रो सेट २५-२३, चौंथो सेट २५-१९ र पाँचौ सेट १५-११ ले जित्दै खेल आफ्नो पक्षमा पारेको हो । निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले एपिएफमाथि रोमाञ्चक जित निकलेको हो ।

यससँगै पुलिसले लिगमा लगातार दोस्रो जित निकालेको छ । २ खेलबाट पुलिसको अंकतालिकामा ५ अंक भएको छ । पुलिस लिगको तेस्रो स्थानमा रहेको छ । उता नतिजा सुम्पिएको एपीएफको यो पहिलो हार हो । एपीएफले २ खेलमा ४ अंक जोडेको छ ।

प्रतियोगिता अन्तर्गत शनिबारकै अर्को खेलमा न्यु डायमण्ड स्पोट्र्स क्लबले भरतपुर मेट्रो खेलकुद परिषदलाई ३–० को सेटमा पराजित गर्दैे जारी लिगमा दोस्रो जित निकालेको छ । भरतपुरमाथि न्यु डायमण्डले २५–१२, २५–७ र २५–१७ को सेटमा जित निकालेको हो । यस जितसँगै न्यु डायमण्ड महिलातर्फ लिगको शीर्ष स्थानमा उक्लिएको छ । न्यु डायमण्डले ३ खेलमा ७ अंक जोडेको छ । पराजित भरतपुरको यो लगातार दोस्रो हार हो । शनिबार नै भएको पहिलो खेलमा आर्मीले ढोरपाटनलाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो । सुखद नतिजा निकालेको आर्मीले २ खेलमा ५ अंक जोडेको छ । उता पराजित ढोरपाटनको यो लगातार तेस्रो हार हो ।

यस्तै पुरुष तर्फको खेलमा विभागीय टोली एपिएफले सामाजिक युवा क्लबमाथि ३–० को सहज जित निकाल्यो । एपिएफले २५–१२, २५–१६ र २५–१६ को सहज जित निकालेको हो ।

प्रतिक्रिया