मंगलबार, वैशाख ४, २०८१

‘नेपाल पत्रकार महासंघ कमजोर छैन’

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन, व्यावसायिक पत्रकार र पत्रकारिताका विषयमा पूर्वअध्यक्षद्वय धर्मेन्द्र झा र शिव गाउँलेको धारणा

नेपालखोज २०७७ चैत २४ गते १२:४०

नेपाल पत्रकार महासंघको २६औं महाधिवेशन भोलि (बुधबार) हुँदै छ । महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको नेतृत्वका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकी चुनावी मैदानमा छन् । चुनावका लागि तीनै उम्मेदवारले पत्रकारहरुलाई आफ्नो पक्षमा मतदानका लागि लबिइङ पनि गरिरहेका छन् । महासंघमा पत्रकारहरुको नेतृत्व, पत्रकार तथा सञ्चारमाध्यमका समस्यालगायत समसामयिक विषयमा नेपालखोजले जान्ने प्रयास स्वरुप पूर्वअध्यक्षद्वयसँग छोटो कुराकानी गरेको छ । महासंघका पूर्वअध्यक्षद्वय धर्मेन्द्र झाशिव गाउँलेसँग नेपालखोजका प्रधान-सम्पादक सुवास ढकालले गरेको कुराकानीको अंश :

‘कतिपय काम पर्याप्त भएनन् होला’

धर्मेन्द्र झा, पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

पत्रकार महासंघमा अहिले अर्धपत्रकार तथा गैरपत्रकार को संख्या बढ्दै गएको हो ?
महासंघलाई यस्तो आरोप लाग्ने गरेको छ । यसलाई नकारात्मक ढंगले बुझिनु हुँदैन । बरु यसलाई महासंघको सुधारका सम्बन्धमा उपलब्ध सुझाव र फिडब्याकका रुपमा लिइनुपर्छ । यस विषयमा महासंघको ध्यानाकर्षण भएको छ । महासंघमा केही अर्ध र गैर पत्रकारको उपस्थितिलाई अस्वीकार गर्न सकिँदैन तर यो पूर्ण सत्य भने होइन । यसैपटक पनि करिब पाँच हजार पत्रकारको सदस्यता नवीकरण भएन । यसबाट महासंघ सदस्यता शुद्धीकरण अभियानमा सक्रिय छ भन्ने बुझ्नुपर्छ ।

पत्रकार महासंघ आफ्नो विगतको तुलनामा राष्ट्रिय मुद्दा अनि व्यावसायिक सवालमा आवाज उठाउने कुरामा कमजोर वा फितलो हुँदै गएको हो ?
यो पनि पूर्ण सत्य होइन । महासंघले देश र समाजको आवश्यकताअनुसार अनेक मुद्दा उठाउँदै आएको छ । आवश्यकताअनुसार कहिले त्यस्ता मुद्दाहरू तीव्र रुपमा उठ्छन् भने कहिले त्यस्ता मुद्दाका स्वर कमजोर हुनुलाई अस्वाभाविक मानिनु हुँदै । यसैपटक पनि महासंघले सरकारको प्रतिगमनको मुद्दालाई उठान गर्‍यो । अर्कातर्फ व्यावसायिक मुद्दा पनि उठायो । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयनबारे पनि महासंघ सक्रिय रह्‍यो । कोरोनाकालमा पनि महासंघले राम्रो काम गर्ने प्रयास गरेको हो । यो फरक कुरा हो कि ती कामहरु पर्याप्त भएनन् होलान् ।

महासंघको २६औं महाधिवेशनको प्रमुख मुद्दा के-होजस्तो लाग्छ ?
प्रेस स्वतन्त्रता, सूचना, विचार तथा अभिव्यक्ति स्वतन्त्रता । नागरिक अधिकारको सुनिश्चितता । लोकतन्त्रको संवर्द्धन । सञ्चारकर्मीका हक हित, पेसागत तथा भौतिक सुरक्षाका विषय नै मुख्य हुन् । सञ्चार र पत्रकारिताको विकास प्रतिकूल रुपमा प्रभावित हुने कानुनको विस्थापन पनि महत्त्वपूर्ण मुद्दा हो ।

000
‘नियतवश गलत मानिसलाई महासंघको सदस्य बनाइयो’

शिव गाउँले
पूर्वअध्यक्ष, नेपाल पत्रकार महासंघ

पत्रकार महासंघमा अहिले अर्धपत्रकार तथा गैरपत्रकारको संख्या बढ्दै गएको हो ?
महाधिवेशन र निर्वाचनको मुखमा पत्रकार महासंघमा यसखाले बहसहरु हुने गर्छन् । अभिव्यक्ति स्वतन्त्रताको प्रयोगको क्षेत्र भएको फाइदा उठाएर पत्रकारिता गर्नेभन्दा बाहेकका कतिपय व्यक्तिले सदस्यता लिएका हुनसक्छन् । तर प्रचार गरिएजस्तो आधा वा त्योभन्दा बढी संख्यामा गैरपत्रकारहरु पत्रकार महासंघको सदस्य छन् भन्ने कुरा वास्तविक होइन । तर कुनै बेला पत्रकार भएका कारण सदस्यता लिएकाहरुले पेसा परिवर्तन गर्दा पनि सदस्यता कायमै राखेको, आक्कल-झुक्कल लेख्‍नेहरुले सदस्यता लिएको जस्ता चलनहरु महासंघमा कायम छन् । त्योबाहेक थोरै ठाउँमा आफूले चुनाव जित्ने उद्देश्यले नियतवश गलत मानिसलाई सदस्य बनाइएको भेटिन्छ । तर, यो संख्या बाहिर भनिएजस्तो आधाआधी वा ठूलो मात्रामा भने छैन ।

पत्रकार महासंघ आफ्नो विगतको तुलनामा राष्ट्रिय मुद्दा अनि व्यावसायिक सवालमा आवाज उठाउने कुरामा कमजोर वा फितलो हुँदै गएको हो ?
विचार र अभिव्यक्ति स्वतन्त्रताको रक्षा र व्यावसायिक पत्रकारको हितका मामिलालाई मुख्य कार्यसूची बनाउने विषयमा महासंघ अहिलेसम्म त्यति कमजोर भएको छैन । जस्तो कि पछिल्लोपटक पनि प्रेसलाई नियन्त्रण गर्ने उद्देश्यले कानुनहरु ल्याउँदा पनि यो बलियोसँग विरुद्धमा उभियो । त्यसैले पत्रकार महासंघले नियमित गर्ने काम कारबाही हेरेर यो कमजोर भयो कि भन्ने कतिपयलाई लागेको हुनसक्छ । तर, प्रमुख विषयमा यो त्यति कमजोर भएको छ भन्ने लाग्दैन । मुख्यत: संकटमा यसको पहिचान हुन्छ । अहिलेसम्म यो संस्थाले संकटको घडीमा लिएका अडानहरु ठीकै छन् भन्ने मेरो बुझाइ छ ।

महासंघको २६औं महाधिवेशनको प्रमुख मुद्दा के-होजस्तो लाग्छ ?
सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनले पत्रकारिता जगत्‌मा पारेको असर, यसबाट भिन्‍नभिन्‍न विधामा देखिएका भिन्नखाले चुनौतीको सामना गर्न सक्ने प्रेसजगत् निर्माण नेतृत्वका लागि प्रमुख चुनौती हो । यसबाहेक नियन्त्रणमुखी कानुनहरुको खारेजी, पत्रकारको मुख्य मुद्दा हुनुपर्छ भन्ने मलाई लाग्छ । महासंघको नेतृत्वले पत्रकारको क्षमता विकास र आलोचनात्मक चेतसहितको पत्रकारिता प्रवर्द्धनको विषय छुटाउनै हुन्‍न ।

महासंघको आगामी नेतृत्वको प्रमुख कार्यभार के हो ?
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा श्रमजीवी पत्रकारको हितमा काम गर्न सक्नु महासंघका लागि चुनौतीपूर्ण जिम्मेवारी हो । यसबाहेक मैलेमाथि पनि भने सूचना प्रविधिका क्षेत्रमा आएको परिवर्तनले पेसामा ल्याएका चुनौतीहरु अध्ययन गर्ने र पत्रकारको क्षमता बढाउने काममा सहभागी हुने । यी काममार्फत महासंघको भावी नेतृत्वले विश्वसनीय पत्रकारिता निर्माणका लागि योगदान गर्न सक्छ ।

नेपाली पत्रकारिताको अहिलेको समस्या र चुनौतीलाई कसरी हेर्नुहुन्छ ?
नेपालमा विधिको शासनको पालना र सुशासन स्थापनामा ठूलो समस्या छ । जवाफदेही शासन प्रणाली छैन । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम भनेको सत्ता र शक्तिमा बस्नेहरुले प्रयोग गर्ने राजनीतिक कार्ड मात्रै हो भन्ने देखिन्छ । सर्वत्र राजनीति हावी छ । हुँदा-हुँदा संवैधानिक निकायहरुसमेत राजनीतिमा मुक्त छैनन् । यस्तो अवस्थामा नेपाली प्रेसको ठूलो जिम्मेवारी भनेको सत्ता वा शक्तिमा बस्नेहरुलाई जवाफदेही बनाउनु हो । तर हाम्रा कदमहरु त्यसतर्फ प्रभावकारी छैनन् ।

मेरो विचारमा जनतालाई सुशासन र विधिको शासनको अभावबारे पर्याप्त सूचित गर्न सकिएको छैन । किनकि हामीले राम्ररी जनतालाई सूचित गर्न सक्यौ भने जनताले ठुल्ठूला निर्णयहरु आफैं लिन्छन् । मेरो विचारमा आजको हाम्रो मुख्य चुनौती पनि यही हो ।

प्रतिक्रिया