बिहीबार, वैशाख ६, २०८१

‘लोकदोहोरीमा अब सेन्सर बोर्डको आवश्यकता देखियो’

नेपालखोज २०७८ भदौ २३ गते १४:४७

तीज भन्नेबित्तिकै कलाकारका लागि आम्दानी गर्ने राम्रो माध्यम हो । तर, पछिल्लो समय कोरोना संक्रमणको त्रासका कारण कलाकारहरूले पनि यो समयमा आफ्नो आम्दानी गर्न सकिरहेका छैनन् । चाडपर्वमा कलाकारहरू कार्यक्रमका लागि देश/विदेशमा स्टेज कार्यक्रम गर्थे । अघिल्लो वर्षभन्दा यो वर्ष केही खुकुलो भए पनि विदेशबाट कार्यक्रमका लागि बोलाउने अवस्था भएन । तर, यो समयमा पनि केही कलाकारहरूका लागि भने कामको खासै कमी भएन । व्यावसायिक हिसाबले हेर्ने हो भने दैनिक गीत रेकर्ड हुने संख्यामा कमी आएको छैन । पछिल्लो समय निषेधाज्ञा केही खुकुलो भएपछि कलाकारहरूले पनि आफ्नो लय समातेका छन् । गायिका शान्तिश्री परियारले पनि गीत रेकर्ड गराइरहेकी छिन् । उनले यो वर्ष पनि तीज गीत रेकर्ड गराइन् । उनै शान्तिश्री परियारसँग तीजको सेरोफेरोमा केन्द्रित रहेर नेपालखोजका लागि प्रनिशा अधिकारीले गरेको कुराकानी :

यो वर्षको तीज कसरी मनाइरहनुभएको छ ?
यसपालि तीज विशेष केही छैन । नेपाल टेलिभिजनको कार्यक्रममा सहभागी हुँदै छु । यस्तै काठमाडौंमै भएका तीजका कार्यक्रममा सहभागी भइरहेको छु । यसरी नै मनाइरहेकी छु ।

यो वर्ष कोरोनाका कारण तीजका गीत केही कम गाउनुभयो कि ? तपाईंलाई त्यति फरक परेन ?
गीत कम भनेर कमैचाहिँ भएन । जति गीत रेकर्डिङ हुन्थ्यो त्यो भयो । मैले यो वर्ष पनि १५/१६ वटा रेकर्ड गराएँ । व्यावसायिक हिसाबले गीत पनि आएकै छन् । मैले पनि गाउन भ्याए जति सबै गाएँ ।

तीजका गीत गाउने, तीज कार्यक्रम गर्ने र आम्दानी गर्ने समयमा कोरोनाले कस्तो प्रभाव पार्‍यो ? आम्दानी नै खस्क्यो होला नि ?
कोरोनाले त एकदमै प्रभाव पार्‍यो नि । सहज समय हुन्थ्यो भने तपाईंले हामी कलाकारलाई नेपालमा भेट्नु पनि हुँदैनथ्यो । हामी देश तथा विदेशको कार्यक्रममा नै व्यस्त हुन्थ्यौं । तर अहिले त कार्यक्रम नै छैन । तर मचाहिँ व्यावसायिक हिसाबले गाउने भएकाले मलाई केही सहज भयो । मलाई अहिले पनि खासै रेकर्डिङको कमी भएको छैन । कामका हिसाबले पनि कामै छैन भन्न परेको छैन । मैले व्यावसायिक तरिकाले काम गर्छु त्यसैले पनि मैले महिनामा ३०/३२ वटा गीत रेकर्ड गराइरहेकै हुन्छु ।

तीजैका मात्र कि अरू पनि त्यत्तिकै गाउनुभयो यो कोरोनाको समयमा ?
होइन तीजका मात्रै होइन अघिपछि पनि मैले काम गरिरहेकै छु । निषेधज्ञाले त्यति धेरै प्रभाव गर्‍यो भन्ने छैन । त्यही स्टेज कार्यक्रमचाहिँ गर्न पाइएन भन्ने हो । स्टेजमा जान नपाए पनि रेकर्डिङ झन् एकदम पाएको छु ।

त्यसो भए तपाईंको हकमा कोरोनाले असर खासै गरेन त ?
मेरो हकमा कोरोनाले असर गरेन तर, मेरो मात्रले त भएन नि । मेरै क्षेत्रमा धेरै हुनुहुन्छ जसलाई कोरोनाको नराम्रो प्रभाव गरेको छ । म पनि पूर्ण निषेधाज्ञा भएको समयमा घरैमा भएँ । केही खुकुलो भएपछि सहज भयो ।

तीजका गीत कोरोनाका कारण संख्यामा कमी आए पनि यो वर्ष पनि रेकर्ड त भए । आर्थिक प्रतिफल नभए त रेकर्ड नै हुँदैनथ्यो नि ?
मेरो हकमा त्यो पनि राम्रै भयो । जब काम सुरु हुन थाल्यो, मैले व्यावसायिक तरिकाले काम गरेपछि आर्थिक पनि ठीकै भयो । तर, कतिपयले रहरले पनि गीत रेकर्ड गराउनुहुन्छ । जस्तै मैले ५० प्रतिशत त देश विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीले रहरले निकालेका गीत नै गाउँछु । म काम गर्ने मान्छे हो जहाँबाट जस्तो काम आए पनि गर्छु । व्यावसयिक हिसाबले नै गरौं भन्ने ५० प्रतिशत होला रहरले गराउने ५० प्रतिशत यसरी नै मलाई काम आइरहेको हुन्छ ।

पछिल्लो समय तीजका गीत भड्किला भएका होइनन् ?
पछिल्ला वर्षभन्दा पनि केही वर्षदेखि नै भड्किला भएका छन् । मलाई त बरु अहिले चाहिँ केही कन्ट्रोल (सुधार) भएको जस्तो लाग्छ । पोहोर–परारभन्दा केही कमी भएको हो कि जस्तो लाग्छ ।

कसरी कम भयो जस्तो लाग्यो तपाईंलाई गीत नै कम भएर त होइन ?
त्यस्तो होइन । मनिसले जुन भड्किलो कुरालाई लिएर क्षणिक रूपमा रमाउन खोज्यो त्यसको चाहिँ एकदमै छोटो आयु हुँदो रहेछ भन्ने बुझे । त्यस्तो थोरै समय रहुनभन्दा बरु थोरै गाएरै पनि लामो समयसम्म रहने गाउँ भन्ने बुझ्नुभएको हो जस्तो लाग्छ ।

पछिल्लो पुस्ता आर्थिकतर्फ केन्द्रित हुँदा भड्किला गीत गाए भन्ने पुराना पुस्ताको आरोप छ नि, के नयाँ पुस्ता गैरजिम्मेवार भएकै हुन् त ?
हो । यस्तो देखियो पनि । हामी यो सोच्नै पर्छ कि हामीभन्दा पछिल्ला पनि पुस्ता आउँछन् । हामीबाट उनीहरूले के सिक्ने त्यो बाटो त राखिदिनु हामी आफैंको जिम्मेवारी हो । हामीले हाम्रा अग्रजबाट जे सिक्यौं त्यो गर्‍यौं । अब हामीले पनि हाम्रा आउने पुस्तालाई कस्तो, के हस्तातरण गर्ने भन्ने पनि हाम्रै हातमा छ । यसमा हामी केही चुकेकै छौं । यसमा अरूले गरेन भन्नुभन्दा पनि आफूले आफैंलाई मूल्यांकन गर्न जरुरी छ । मैले कस्तो काम गर्दा राम्रो हुन्छ स्वयंले मूल्यांकन गर्नुपर्छ । हाम्रो सेन्सर बोर्ड नभएकाले पनि मानिसलाई तँ यो गर्, त्यो नगर् भन्ने अवस्था छैन । आफैंले बुझ्नुपर्छ ।

लोकदोरीमा अब सेन्सर बोर्ड चाहिएकै हो ? के भन्नुहुन्छ ?
अवश्य पनि चाहिएको छ । लोकदोहोरीले सेन्सर बोर्ड माग्न थालेको त धेरै वर्ष भयो तर, सरकारले बेवास्ता गरिरहेको छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
सम्पूर्ण पाठकलाई हिन्दु महिला दिदीबहिनीलाई हरितालिका तीजको शुभकामना । कोरोना कहर छ । अफ्ठ्यारो परिस्थिति छ तर,सबै कुराको सामना गर्नैपर्छ । प्रकृतिसँग केही लाग्दैन जे जस्तो छ जुन ठाउँमा छौं रमाएर चाडपर्व मनाऔं भन्न चाहन्छु ।

प्रतिक्रिया