शनिबार, वैशाख १५, २०८१

‘नगरवासीलाई पक्षपात गरेको छैन’

रमणीय वातावरणमा सञ्चालित चन्द्रागिरि केवलकारले नगरपालिकाको आर्थिक आयआर्जनका लागि मात्र होइन, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पनि पहिचान दिएको छ ।

नेपालखोज २०७८ साउन २७ गते ९:५५

केवलकार र हिल्स रिसोर्ट चन्द्रागिरि नगरवासीको गौरवपूर्ण पहिचान बनेको छ

हाइलाइट्स :

–चन्द्रागिरि नगरपालिका आदिमकालदेखि काठमाडौं उपत्यका नाका प्रवेश गर्ने प्रमुख नाका हो । यो नेपाल एकीकरण, धार्मिकलगायत विभिन्न महत्त्व बोकेको नगरपालिका हो । खास गरी चन्द्रागिरि भन्ज्याङ पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका अवलोकन गरेको पहिलो ठाउँ पनि भएकाले यो निकै महत्त्वपूर्ण र ऐतिहासिक स्थान हो ।
–यहाँ महत्त्वपूर्ण धार्मिक ऐतिहासिक स्थल छन् । हरेक दुई वर्षमा लाग्ने मच्छेगाउँस्थित मच्छिन्द्रनारायण मेलामा विभिन्न ठाउँबाट २५ लाखसम्म मानिस आउने गर्छन् । मातातीर्थ औँशीका दिन दर्शन गर्ने र मेला लाग्ने ठाउँ नेपालमै नमुना हो ।
–यहाँ पर्यटकीय दृष्टिकोणले चन्द्रागिरि हिल्स केवलकार, त्रिभुवन पार्क, भ्युटारलगायत पर्यटक लोभ्याउने ठाउँहरू छन् । देश–विदेशबाट यी महत्त्वपूर्ण ठाउँ घुम्न आउने भएकाले आफूलाई गौरवान्वित महसुस गरेका छौं ।
–सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेका धरोहरलाई डीपीआर तयार गरेर जगेर्ना र संरक्षण गर्दै व्यवस्थित गर्ने काम गर्दै छौं । हामी जनप्रतिनिधि हुनुभन्दा अघि र भएपछिको ठाउँको अवलोकन गर्नुभयो भने धेरै फरक पाउनु हुनेछ ।
–चन्द्रागिरि हिल्स रिसोर्ट पर्यटकीय रूपमा उत्कृष्ट हुँदै गएको छ । नेपाल सरकारले महत्त्वपूर्ण दुईवटा रिसोर्टलाई अवार्ड प्रदान गरेकामा चन्द्रागिरि हिल्स पनि पर्यो । यसले उत्कृष्ट पर्यटकीय गन्तव्य क्षेत्रका रूपमा अन्तर्राष्ट्रिय अवार्ड पनि प्राप्त गर्यो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चन्द्रागिरि हिल्सले पहिचान दिएको छ ।
–चन्द्रागिरि केवलकारले पनि यस नगरपालिकाको पहिचान दिएको छ । हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू घुम्न आउँछन् । रमणीय ठाउँको केवलकारले नगरपालिकाको आर्थिक आयआर्जनका लागि मात्र होइन, राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा पनि पहिचान दिएको छ ।
–खास गरी चन्द्रागिरि हिल्सको सबै भौतिक संरचना यसै नगरपालिकाभित्र पर्छन् । यद्यपि चन्द्रागिरिको सीमानामा परेका पालिकाहरूलाई पनि हामीले केही सहयोग उपलब्ध गराएका छौं । खासगरी इन्द्रसरोवर गाउँपालिका र थाह नगरपालिकाको केही भूभाग चन्द्रागिरिको माथिल्लो भागमा पर्ने भएकाले प्राप्त आम्दानीमध्ये ४० प्रतिशत रकम उपलब्ध गराइरेहेका छौं ।
–कोराना संक्रमणको पहिलो लहरका बेला जोखिम कम गर्न कोराना संक्रमण नियन्त्रणसम्बन्धी मापदण्ड पालना गर्नमा कडाइ गर्यौं । कोरोना संक्रमण भेटिएका विभिन्न ठाउँ सिल पनि गर्यौं । पहिलो लहरमा संक्रमण बढ्दै गएपछि देशभर नगरपालिका सिल गर्ने हाम्रो पहिलो नगरपालिका थियो । दोस्रो लहरको कोरोना संक्रमणमा सुविधासहित समुदायमा आधारित र नगरपालिकाद्वारा दुवै आइसोलसन सेन्टर सञ्चालन गर्यौं ।

चन्द्रागिरि केवलकार र रिसोर्टको चर्चा अन्तर्राष्ट्रिय स्तरमा फैलिँदै

–बिरामी बाँच्छ भने हात भाँचिएकाको भन्दा मुटुका रोगीको अप्रेसन पहिले गर्नुपर्छ भनेजस्तै विकासलाई पनि त्यसैगरी प्राथमिकता दिइएको छ । धुलो, हिलो र प्रदूषणको समस्या हुने कलंकी–नागढुंगा खण्डलाई अहिले हरियाली सडकमा रूपान्तरण गरिएको छ । हजारौं मानिस ओहोरदोहार गर्ने ठूला मार्गहरूको सुधारमा ध्यान दिएका छौं । ठूला सडकको सुधार सकेपछि सानातिना सडकको सुधार गरिनेछ ।
–मेयरको कुर्सीमा बसेपछि नगरवासीलाई पक्षपात गरेको छैन । निश्चित सातवटा सूचकहरू तोकेर विकेन्द्रितको फर्मुला बनाएर बजेट विनियोजन गरिएको छ । सूचकका आधारमा सबैभन्दा बढी नम्बर पाउने वडाले बढी रकम पाउँछन् भने कम नम्बर पाउनेले कम रकम पाउँछन् ।

(नेपालखोजको ‘मेयरका कुरा’ मा हामी विभिन्न नगरपालिकाका मेयरहरुसँग समसामयिक विषयमा कुरा गर्छौं । कार्यक्रममा हामी नगरभित्रका समस्या, त्यसको समाधानमा मेयरको भूमिका तथा प्रयास, आगामी योजनालगायतका विषयहरु पाठक तथा दर्शकसामु प्रस्तुत गर्छौं । ‘मेयरका कुरा’ हरेक बुधबार नेपालखोजमा पढ्न र हेर्न सकिन्छ । यसअघिको अंकमा हामीले मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापासँग कुराकानी गरेका थियौं । यसपटक ‘मेयरका कुरा’ मा हामीले चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसँग कुराकानी गरेका छौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं ।)

‘मेयरका कुरा’ का अघिल्ला अंकहरू हेर्न तथा पढ्न छुटाएको भए हेर्नुहोस् ।

‘विकासको काममा नगरवासीको सहयोग उत्कृष्ट’

‘१४ ठूला खानेपानी योजनाका काम भइरहेका छन्’

प्रतिक्रिया