महासंघमा अध्यक्षका प्रत्यासीहरुका दाबी र उनीहरुका प्रतिबद्धता ! (भिडियोसहित)

शम्भु रेग्मी २०७७ चैत २४ गते १७:०९

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार मतदान हुँदै छ । नेतृत्वको प्रत्यासीहरु पनि अन्तिम प्रचारप्रसारमा जुटेका छन् । प्रत्यासीहरुले भेटघाट, फोन-म्यासेज गर्नुका साथै सामाजिक सन्जालमार्फत पनि मत माग्दै आएका छन् । उनीहरुले आफ्ना एजेन्डा र प्रतिबद्धताहरु मतदाता (पत्रकार) हरुमाझ राखेका छन् । अध्यक्षका दाबी र उनीहरुका प्रतिबद्धतालाई नेपालखोजले प्रस्तुत गरेको छ ।

हेरौं अध्यक्षका प्रत्यासी विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीका प्रतिबद्धता र एजेन्डाहरु :

०००
‘श्रमजीवी पत्रकारको सम्मान र सुदृढ सञ्चार गृह बनाउने हाम्रो अभियान हो’
विपुल पोख्रेल
अध्यक्षका प्रत्यासी

अबको पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको मुद्दा प्रखर रुपले राख्छ । पत्रकारको दक्षता अभिवृद्धि पत्रकारलाई व्यावसायिक बनाउने पत्रकारलाई आफ्नो पारिश्रमिक माग्न सक्ने दक्ष बनाउने मूल एजेन्डा रहेन्छ छ ।

श्रमजीवी पत्रकारको सम्मान र सुदृढ सञ्चार गृह बनाउने अभियान हाम्रो अर्का एजेन्डा हुनेछ । प्रेस स्वतन्त्रता हाम्रो अर्को एजेन्डा हो । हामी यसमा सधैं प्रखर रुपमा लाग्नेछौं । नागरिक र श्रम अधिकार हाम्रो आधारभूत कुरा हो यसबाट हामी टाढा रहँदैनौं ।

गाउँमा बसेर समचार संकलन गरेर सन्देश प्रवाहको महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । पत्रकारले प्रेस पास लिन, नवीकरण गर्न काठमाडौं आउनुपर्ने स्थिति छ । पत्रकारहरुले संघीयताको लाभ लिन सकेका छैनन् हामी यसको लागि पनि काम गर्नेछौं ।

०००
‘पुरुष प्रत्यासीहरुभन्दा अब्बल छु’
निर्मला शर्मा
अध्यक्षका प्रत्यासी

जित्ने आधार
मेरा जित्ने आधार म श्रमजीवी पत्रकार हो । मैले लगभग नेपालका सबै जिल्ला पुगेर पत्रकारहरुलाई तालिम दिएको छु साथै त्यहाँका सामाजिक मुद्दालाई सञ्चारमाध्ययमा ल्याएको छु । प्रेस अभिव्यक्ति स्वतन्त्रताका लागि लडिरहेको छु । आजभन्दा १५ पहिले केन्द्रीय कार्यसमितिमा काम गरेको अनुभव मसँग छ । र मलाई लाग्छ मेरा दुई प्रतिस्पर्धी पुरुषभन्दा म कुनै पनि विषयमा कम छैन । बरु म उहाँहरुभन्दा बढी अब्बल छु भन्ने दाबी गर्छु । सात दशकसम्म महिला महासंघको नेतृत्वमा पुगेका छैनन् त्यसै यो इतिहास बनाउने बेला पनि हो । यी सबै मेरा जित्ने आधार हुन् ।

यस कारण मलाई भोट
मलाई भोट दिने आधार धेरै छन् । म २५ वर्षदेखि पत्रकारितामा क्रियाशील छु । मसँग प्रिन्ट, रेडियो, टीभी, अनलाइन सबै माध्ययमा काम गरेको अनुभव छ ।

श्रमजीवी पत्रकारको पेसागत हकहितका लागि काम गर्नसक्ने क्षमता राख्छु । आफैं लगानी गर्ने आफैं रिपोर्टिङ गर्ने स्वरोजगारमूलक मिडियालाई प्रवर्द्धनको व्यवस्था र पत्रकारको क्षमता अभिवृद्धि गर्ने तालिम नेपाल प्रतिष्ठानमार्फत गराउनेछु । यस किसिमका मिडिया दिगो रुपले चलाउन राज्यले पनि लगानी गर्नुपर्छ र व्यावसायिक बनाउन म महासंघमा पुगेर यसबारेमा कदम चाल्नेछु । त्यसैकारण मलाई देशभरका पत्रकारले मतदान गर्नेमा ढुक्क छु ।

०००
‘राजनीतिक दलहरुको अखडा बन्यो महासंघ’
गजेन्द्रसिंह बुढाथोकी
अध्यक्षका प्रत्यासी

यस कारण मलाई भोट
नेपाल पत्रकार महासंघ लामो समयदेखि राजनीतिक दलहरुको अखडा बन्दै आएको छ । जब महासंघको महाधिवेशनको घोषणा हुन्छ तब राजनीति दलहरुको सक्रियता बढेर जान्छ । पेसागत पत्रकारहरुको संगठनमा राजनीतिक दलहरुको हस्तक्षेप बढेपछि पत्रकारहरु ले नै यो विकृति हटाउनुपर्छ यसलाई शुद्धीकरण गर्नुपर्छ भनेर नेपालभरका श्रमजीवी पत्रकार र पेसागत पत्रकारहरुले मलाई मतदान दिनुहुन्छ भन्ने आशा छ ।

जित्ने आधार
पत्रकार महासंघलाई प्रस्ट रुपमा रिफर्म गराउने एजेन्डा मसँग छ । नेपालमा मिडियाहरुको र पत्रकारहरुको संख्या जसरी बढेको छ त्यति नै पत्रकारहरुको असुरक्षा पनि बढेको छ । पत्रकाहरुले आफ्नो पारिश्रमिक नपाएर भोक हडताल बस्नुपर्ने स्थिति छ । यसमा महासंघले संरचनागत व्यवस्था गराउन सकेन म यसलाई नेतृत्वमा पुगेसँगै मुख्य एजेन्डा बनाएर काम गर्नेछु ।

सात दशक लामो इतिहास बोकेको संस्था नेपाल महासंघले पत्रकारहरुको सामाजिक सुरक्षाका लागि कुनै संरचनागत व्यवस्था ल्याउन सकेन । २० वर्ष एउटा संस्थामा काम गरेको पत्रकार बिदा हुँदा रितो हात फर्कन बाध्य हुन्छ । दुर्घटना बिमा स्वास्थ्य बिमालगायत कुरामा महासंघले एउटा नीतिगत व्यवस्था ल्याउन सक्छ म यसका लागि लबिइङ गर्न सक्छु त्यसैले यी सबै मेरा जित्ने आधार बनेका हुन् ।

तस्बिर-भिडियो : संगम ढकाल/रुपेश चौलागाईं

हेरौं अध्यक्षका तीनै प्रत्यासीका एजेन्डा

शम्भु रेग्मी

शम्भु रेग्मी

शम्भु रेग्मी नेपालखाेज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया