एएफसी कप छनोट : त्रिभुवन आर्मी र श्रीलंका पुलिस भिड्दै

काठमाडौं । एएफसी लाइसेन्स पहिलो पटक पाएपछि त्रिभुवन आर्मी क्लबले एएफसी कपको छनोट खेल खेल्दै छ । आर्मीले बुधबार साँझ साढे पाँच बजे श्रीलंका पुलिस क्लबसँग खेल्न लागेको हो ।
दशरथ रंगशालामा हुने फुटबल खेलका लागि आर्मीले सबै तयारी पुरा गरेको जनाएको छ । खेल अघि मंगलबार गरिएको प्रि म्याच कन्फ्रेन्समा त्रिभुवन आर्मीका प्रशिक्षक नबिन न्यौपानेले दोस्रो चरणमा पुग्ने लक्ष्यका साथ खेल्ने बताएका छन् ।
न्यौपानेले छनोटको पहिलो खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबविरुद्ध जित निकाल्नेमा आफू विश्वस्त रहेको पनि बताए । क्लबको तयारी राम्रो रहेको र खेलाडी पनि पूर्णरुपमा फिट रहेको भन्दै प्रशिक्षक न्यौपानेले दोस्रो चरणमा स्थान बनाउने बताएका हुन् । घरेलु फुटबलमा शीर्ष श्रेणीको ए डिभिजन लिग मछिन्द्र क्लबले जिते पनि एएफसी क्लब लाइसेन्स नभएपछि नेपालको एक मात्र लाइसेन्स प्राप्त क्लब आर्मीले यो प्रतियोगिता खेल्न लागेको हो ।
एएफसीको तालिकाअनुसार आर्मीले दक्षिण एसियाबाट प्लेअफ जित्दै समूह चरणमा स्थान बनाउन तीन खेल जित्नु पर्ने हुन्छ । पहिलो खेलमा श्रीलंका पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेङ्गलुरु फुटबल क्लबसँग १४ अप्रिलमा गोवास्थित जिएमसी रंगशालामा खेल्नेछ ।
यो खेल जितेको खण्डमा आर्मीले प्लेअफको अर्को पोलको विजेतासँग फाइनल खेल्नेछ । त्यस खेलको विजेताले एएफसी कपमा प्रवेश गर्दै समूह डीमा स्थान बनाउने छ । समूह डी मा दक्षिण एसियाका ४ क्लब रहनेछन् । जसमा तीन वटा क्लब भारतको एटिके मोहन बगान, बंगलादेशको बसुन्धारा किङ्स र माल्दिभ्सको माजिया स्पोर्ट्स क्लबले घरेलु लिग जित्दै स्थान बनाईसकेका छन् भने एक स्थानको लागि आर्मीले खेल्न लागेको हो ।
प्रतिक्रिया