आज प्रहरी अस्पतालको ३७औं वार्षिकोत्सव

नेपालखोज २०७७ चैत २६ गते १४:३९

काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजले ३७ औं वार्षिकोत्सव मनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा बिहीबार अस्पतालले वार्षिकउत्सव मनाएको हो ।

वार्षिक उत्सव कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको बिलिङ तथा रिर्पोटको अनलाईन सुविधा लिन सकिने प्याटेन्ट पोर्टलको उद्घाटन गरेकाछन् । साथै उनले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको दुुई करोड रुपैयाँको थैली अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गरेकाछन । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७७’ र नेपाल मेडिकल जर्नल समेत उनले लोकार्पण गरे ।


सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गरे । साथै कोभिड–१९ बाट संक्रमण भएका प्रहरी कर्मचारीहरुलाई सामान्य जिवनमा फर्काउनका निम्ति नेपाल प्रहरी अस्पतालले देखाएको लगनको प्रशंसागर्दै आगामी दिनमा थप सतकर्ता र लगनशील भएर काम गर्न अस्पतालका कर्मचारीलाई निर्देशन दिए ।

प्रहरीको स्वभाव नागरिक प्रहरी भएको बताउँदै उनले भने, ‘नागरिक प्रहरीको मर्म भनेकै नागरिकको बिचमा गएर गर्ने सेवा हो ।’ साथै नेपाल प्रहरी अस्पतालबाट शुभारम्भ भएका नयाँ सेवाहरु कार्यान्यवयनमा सदैव निरन्तर र दिर्घकालीन हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरी अस्पतालको सहयोगका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उनले बताए ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु अच्युत कृष्ण खरेल, रमेश चन्द ठकुरी, कुवेर सिंह राना, उपेन्द्र कान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवालीले अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गरे ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले अस्पतालमा रहेका बेडहरुको लागि ३० थान कम्बल मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरिन । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गरेकीछन् । उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी निर्देशक किरण कुमार श्रेष्ठले एक थान पीओएस मेसिन र चार थान क्यूआर मेसिन अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गरे ।

समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै अस्पताललाई समयनाकुल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अंगिकार गरी स्वस्थ वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न सदैव प्रयासरत रहेको बताए । हाल सर्वसाधरण नागरिकलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गर्ने कार्य भइरहेकोले यस अस्पताललाई रिफरल सेन्टरको रुपमा विकसित गर्दै लाने कार्यमा यस अस्पताल सदा प्रयत्नरत रहेको तथा गुणस्तरीय सेवा उपलब्ध गराउन नेपाल प्रहरी अस्पताल सदैव कटिवद्ध रहेको समेत उनले उल्लेख गरे ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको उक्त समारोहमा प्रहरी नायव उपरीक्षक प्रेम सागर केसीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया