गृहमन्त्री थापालाई पनि माओवादीले गर्यो कारबाही

काठमाडौं । नेकपा (माओवादी केन्द्र)बाट राष्ट्रिय सभा सदस्य भएका गृहमन्त्री रामबहादुर थापाको पद पनि खारेज हुने भएको छ । थापाले दल परित्याग गरेकाले सांसदबाट कारबाही गरिएको भन्ने माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले संसद् सचिवालयलाई पत्र पठाएका छन् ।
आफ्ना चार सांसदलाई कारवाही गरेलगत्तै गृहमन्त्री थापालाई कारबाही गरेको सूचना संघीय संसदलाई माओवादीले पठाएको छ । यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
नेकपा एमाले प्रवेश गरेका उनले माओवादी केन्द्र दल परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना हाल नेपाल बाहिर रहेका कारण उक्त प्रक्रिया तत्काल भने अगाडि नबढ्ने भएको छ । तिमिल्सिना स्पेन भ्रमणमा रहेका कारण फर्किएपछि मात्रै थापाको सांसद पद खारेजीको प्रक्रिया अगाडि बढ्नेछ । उनी २०७८ साल वैशाख १ गते मात्रै नेपाल फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया