बिहीबार, चैत १५, २०८०

सुन्न चाँहदैनौ

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ चैत २८ गते ११:२२

शान्ति खोज्नु जीवनदेखि हार्नु होइन
यो त जीवनलाई खोज्ने महान् बाटो हो
र हो, सुन्दर जीवनको परिकल्पना
आत्मसन्तुष्टिको यात्रा

सर्वे भवन्तु सुखिनको मूलमन्त्र
सर्वे सन्तु निरामयाको जीवनदर्शन
आत्म साक्षात्कारको गहनता
परमात्माप्रतिको सम्मोहन
यही बाटो हो शान्तिको ।

यो कसैसँग हार्दैन
कसैसँग जित्दैन
कसैसँग प्रतिस्पर्धा गर्दैन
कसैसँग प्रतिरोध गर्दैन
जुध्दैन
बाझ्दैन
लड्दैन
झुक्काउँदैन
ठग्दैन
निराश गर्दैन
हिंसा गर्दैन
यही त हो जीवन
यही नै हो रामराज्य
यही नै हो सर्वप्राणीको हित
यही नै हो शान्ति

शान्ति के हो ?
सन्तलाई सोध
फकिरलाई सोध
आत्मद्रष्टालाई सोध
जीवनमा गरिएका पाप र अत्याचारलाई सोध
आफैंभित्रको अहंकारलाई सोध
महत्वाकांक्षालाई सोध
तिम्रो उराठ जीवनलाई सोध

के तिमी शान्त छौ ?
के तिमीले अहंकारलाई त्याग्नुपर्दैन ?
के तिमीले महत्वाकांक्षालाई सोध्न पर्दैन ?
के तिमीले आफ्ना अत्याचारलाई प्रश्न गर्नु पर्दैन ?
के तिमी यो संसारलाई मृत्युपछि पनि लिएर जान्छौ त ?
तिमी दाउराको ठुटोमा खरानी भएर सकिन आएका हौ ?
जीवन बाँचुन्जेल पनि तिमीले मुर्दाकोभन्दा फरक जीवन बाँचेका छौ ?

एउटा जोगीलाई हेर
ऊ कसरी बगरमा आकाश हेर्दै पल्टिरहेको छ
उसलाई तिम्रा जीवनका तिकडमदेखि कुनै मतलब छैन
उसलाई कसैसँग हार्नु छैन
कसैसँग जित्नु छैन
प्रतिस्पर्धा गर्नु छैन
ऊ पल्टिरहेछ
बाल मुकुन्दम्को लयमा
शान्तिको आनन्दानुभूतिमा
जीवनको आनन्दमा
परमात्माको खोजमा

तमाम अहंकार र अत्याचारबाट पर रहेर
उसले खिस्याइरहेछ तिम्रो उन्नति नामको दाउपेचलाई
ऊ भनिरहेछ ॐ शान्तिको भावमा
आऊ सँगै सर्वे भवन्तु सुखिनको मन्त्र जापौं
आऊ सँगै सर्वप्राणी हितको गीत गाऔं
आऊ सँगै सहनौ भुनक्तुको आदर्श बाँढौं

तर, तिम्रो कान बहिरो भएको छ
तिमी सुन्दैनौ
र सुन्न चाहँदैनौ पनि

प्रतिक्रिया