शुक्रबार, जेठ ४, २०८१

रानी ऐश्वर्यले भेट्न नमानेपछि…

रुबि राणा २०७८ जेठ ४ गते १६:००

काठमाडौं । यो तस्बिर सन् १९९५ को हो । पेप्सीकोला हीरक साँझ १९९५ का दौरानको घटना फेरि मेरो मानस पटलमा ताजा भएर आयो ।

यो तस्बिर त्यति बेलाका सम्माननीय प्रधामन्त्री मनमोहन अधिकारीज्यू, विश्व सुन्दरी ऐश्वर्य राय पेप्सीकोलाकी सद्‌भावनादूत र म, (प्रथम नेपाल सुन्दरी रुबी राणा) को हो ।

धेरै-धेरै धन्यवाद वहाँ भाइ राजेन्द्र चित्रकारलाई यो तस्बिरका लागि । वहाँले यो तस्बिर फेसबुकमा राख्नुभएको थियो र मैले सेभ गरेर आफ्नो मनमा लागेको कुरा सेयर गर्दै छु ।

त्यही दिन हाम्रो, म रुबी राणा शाह अनि विश्व सुन्दरी ऐश्वर्य रायको बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी शाहसँगको दरबारमा दर्शन भेटको कार्यक्रम तय भएको थियो । एकदमै खुसी लागेको थियो, रानीसँग भेट्न र कुराकानी गर्न । तर एक्कासि मलाई आयोजकबाट, ‘तिमी जानु पर्दैन रानीले विश्वसुन्दरीलाई मात्र दर्शन टक्राउने’ खबरले मनै खिन्न बनायो ।

म असमञ्जसमा परें !!!
‘किन र ??’ यही प्रश्न थियो मेरो ।
‘खै ! थाहा भएन’, भन्दा मलाई साह्रै दु:ख लाग्यो ।
‘किन होला मैले मेरै देशको रानीलाई भेट्न नपाउने !?’ मनमनै खिन्न भावनाले मलाई खाँदै थियो ।

वीरगन्ज सहरको छपकैया गाउँको बासिन्दा क्याप्टेन जनक जंगबहादुरराणा र कमलादेवी राणाको पक्कै पनि राजकुमारी थिएँ म र नेपालको प्रथम नेपाल सुन्दरी ।

किन दर्शन दिन खोजिबक्सिएन रहस्य नै रहने भो मनमा ।

अथवा राणाकी छोरी हो भनेर तर्सिबक्सेको हो कि !!

मलाई त मेरो रानीलाई साक्षात् दर्शन गर्नु थियो। ‘उकाली ओराली ‘गीतकी चाँदनीको उज्यालो मुहारलाई नजिकबाट नियाल्नु थियो । रानीको भुक्क फुलेको देवीको जस्तै केश सज्जा हेर्ने धोको थियो । काँधमा सिफन साडीको सप्कोमा के बुट्टा छ भनी हेर्नु थियो । कमल कोपिलाजस्तो हातमा काँचका चुराहरु खन्केको आवाज सुन्नु थियो ।

जति मैले मेरो रानीलाई चिनेको थिएँ विश्व सुन्दरीले के चिनेकी थिइन् होला ??

मलाई किन न भेट दिबक्सेको होला ??
हो पाहुना ईश्वर हुन्, मान्दछु, !!
(र म को !!?)
म त आफ्नै देशको चेलीबेटी, छोरी
मलाई अपहेलित गरेजस्तो लाग्यो ।
माइतीमा छोरीलाई प्रवेश निषेधाज्ञा गरेजस्तो हीन भावनाले मलाई मेरो ताजको महत्त्व र चमक धमिलो लाग्न थाल्यो ।

मनमा अनेकौं प्रश्नले जालो बुन्दै जाँदा आँखाबाट आँसुका धारले रानीप्रतिको मायालाई पखाल्दै गयो ।

मनलाई कठोर बनाएर मैले रानीलाई भेट्ने सपनालाई त्यागें । हुन सक्छ यो मेरो मनको बह मात्र हो ।

यही दृढ संकल्पका साथ म आफैं खुसी रहें । म आफ्नो मनको रानी बन्न सक्छु । मनको रानी, धनको रानी हैन !!!

त्यो यही दिनको तस्बिर हो । ऐश्वर्य रायले बडामहारानीलाई भेटेर आएपछि हामी बालुवाटार प्रधानमन्त्रीनिवासमा प्रधानमन्त्रीज्यूलाई भेट्न गएका थियौं । कालो चिल्लो मर्सडिज कारमा विश्वसुन्दरी र नेपाल सुन्दरी चढेर ।

मलाई सम्झना छ विश्व सुन्दरी अङ्ग्रेजीमा बडामहारानीको खुबै बयान गर्दै थिइन् र म सुनिरहेको थिएँ, केही नबोली ।

मेरो मन पीडा र डाहले पोलिरहेको थियो । मैले एक शब्द केही बोलिनँ, कुनै प्रतिक्रिया जनाइनँ ।

आर यू ओके ? भनेर पनि सोधिन् विश्व सुन्दरीले ।

मैले मुन्टो मात्र हल्लाएर जवाफ दिएँ ।

तर जब मैले प्रधानमन्त्रीज्यू र उहाँकी श्रीमतीलाई भेटे मेरो मुड एकदमैसँत परिवर्तन भयो ।

अति सरल र मिजासिलो । वहाँकि श्रीमतीले गरेको आदर-सत्कार र कुराकानीले मलाई अति नै प्रफुल्लित बनायो ।

अभिभावकजस्तो त्यो व्यवहारले आफूलाई छोरीजस्तो अनुभव हुन थाल्यो ।

वहाँले भन्नुभो, ‘हामी देशवासीहरु एकदमै खुसी छौं तिमीलाई नेपाल सुन्दरीका रुपमा देख्‍न पाउँदा । नेपालको यो प्रथम प्रयास हो । यो यात्रा निरन्तर जारी रहोस् !’ पछाडिबाट मधुरो स्वरमा, ‘हाम्री नेपाल सुन्दरी पनि निक्कै अग्ली रैछिन्’ प्रधानमन्त्रीज्यूकी श्रीमतीले भन्नु हुँदा हामी सबै अट्टाहास हाँसेका थियौं ।

सम्झनाका कुराहरु जुन मैले व्यक्त गरे यो मेरो मनमा बिझेको काँडाजस्तो थियो, जसलाई आज निकालेर हजुरहरुसमक्ष पेस गरेकी छु ।
र पनि मेरो मनकी रानीले बडामहारानी ऐश्वर्यलाई सधैं खोजी रह्यो ।

भाग्यमा भेट्ने थिएन होला र पो भेट भएन भनेर मेरो मनकी रानीले मलाई बेला-बेला सम्झाउछे !!

रुबि राणा

प्रथम मिस नेपाल

प्रतिक्रिया