महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न दिन्न : पोखरेल

नेपालखोज २०७७ चैत २८ गते १७:१५

काठमाडौं । नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष विपुल पोखरेल (औपचारिक रुपमा घोषणा हुन बाँकी) ले महासंघको निर्णय प्रक्रिया र नीति निर्माणमा दलीय प्रभाव पर्न नदिने प्रतिवद्धता जनाएका छन् ।

शनिबार सबै जिल्लाको मतगणना सकिएको र आफ्नो जित सुनिश्चित भएपछि विजय जुलुस मनाउँदै नवनिर्वाचित अध्यक्ष पोखरेलले महासंघका कुनैपनि कुरामा दलीय एजेण्डाको प्रभाव पर्न नदिने बताए ।

त्यस्तै श्रमजीवि पत्रकारहरुको हक हितका मुद्दाहरुलाई अगाडी लैजाने सम्बन्धमा आफूले कहिँ कतै सम्झौता नगर्ने प्रतिवद्धता पनि जनाए ।

त्यस्तै नवनिर्वाचित उपाध्यक्ष रमेश विष्टले पनि पत्रकार महासंघमा दलीय छायाँ पर्न नदिने प्रतिवद्धता जनाएका छन् । महासंघलाई पत्रकारहरुको साझा चरित्रको संस्थाको रुपमा विकास गर्ने पनि बताए ।

महासंघको चुनावमा पोखरेलको उम्मेदवारी नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस सङ्गठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चोतारीसहित ११ सङ्गठनको तर्फबाट रहेको थियो ।

अध्यक्षमा नेकपा एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी निकट प्रेस मञ्च, विप्लव निकट जनपत्रकार संघलगायतको प्यानलबाट निर्मला शर्माको उम्मेदवारी थियो । त्यसबाहेक गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया