विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।
प्याब्सनले आइतबार विज्ञप्ति जारी गर्दै अनलाइन कक्षाबाट सबै विद्यार्थीलाई समेट्न नसकिने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गरी विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।
संक्रमण बढेर विद्यालय बन्द गर्नुपर्ने आवश्यक परे सम्बन्धित विद्यालय वा पालिकामा मात्र केही निश्चित समय विद्यालय बन्द गरेपनि अन्य ठाँउमा स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने प्याब्सनले माग राखेको छ ।
प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ ।’
विज्ञप्तिमार्फत प्याब्सनले बालबालिकालाई संक्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्यवर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पुर्याइदिन अभिभावकलाई अनुरोध गरेको छ ।
प्याब्सनले जारी गरेको विज्ञप्ति


प्रतिक्रिया