भारतबाट फर्किएका झण्डै १० प्रतिशतलाई कोरोना संक्रमण

कञ्चनपुर । सुदूरपश्चिममा भारतबाट फर्किएर परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो एक हप्तामा कञ्चनपुरको गौरीफन्टा नाकाबाट घर फर्किएकाहरूमध्ये तीन सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यो कुल परीक्षणको झण्डै १० प्रतिशत रहेको पुर्नवास स्वास्थ्य एकाइका अहेब गणेश साउँदले जानकारी दिए ।
जनशक्ति र अरू व्यवस्थापकिय अभावका कारण सबैको परीक्षण सम्भव नभएको पनि उनले बताए । दैनिक पाँच सयभन्दा धेरै मानिस फर्कने गरेकोले उनीहरू सबैको परीक्षण सम्भव नहुने र परीक्षण गराएकामध्ये १० प्रतिशतमा सङ्क्रमण देखिने गरेको साउँदले बताए ।
उनले भारतबाट आउनेहरू सीमामा लुकिछिपी आउनुका साथै कोरोना परीक्षण बिनै गाउँ पसिरहेकाले आम नागरिकले सर्तकता अपनाउनुपर्ने अवस्था फेरि आएको बताए। अहिले भारतमा सङ्क्रमण दर दिनप्रतिदिन बढ्न थालेपछि नेपालीहरु धमाधम स्वदेश फर्किन थालेका छन् ।
भारतको विभिन्न क्षेत्रमा मजदुरीका लागि गएका सुदूरपश्चिमका बासिन्दा विशु पर्व मनाउन यतिबेला घर फर्किन थालेका छन् । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, डोटी, अछाम, बाजुरालगायतका जिल्लामा मौलिक तरिकाले विशु पर्व मनाउने गरिन्छ ।

प्रतिक्रिया