शुक्रबार, चैत १६, २०८०

तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाको सुझाव

नेपालखोज २०७७ चैत ३० गते १४:४४

काठमाडौँ, । तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाहरुले सरकारलाई सुझाव दिएका छन् । कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढ्दै गएपनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरुले बन्द अन्तिम उपाय नभएको बताए । संविधानले माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई प्रदान गरेकोले विद्यालय सञ्चालनको निर्णयको केन्द्रबाट गर्न नहुनेमा जोड दिएका हुन् ।

सरोकारवालाले दिएको सुझाव समेटेर तयार गरेको मस्यौदा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आजबस्ने मन्त्री परिषद्मा पेश गर्ने भएका छन् । मन्त्री श्रेष्ठले यो विषयमा मन्त्रीपरिषदको बैठकमा छलफल गरिने जानकारी दिए । छलफलमा अधिकांसले सिसिएमसिको बैठकमा मुख्य सरोकार राख्ने मन्त्रालयका मन्त्रीसँगको छलफल गरेर मात्र निर्णय गर्नुपर्ने विषय उठान गरेका थिए ।

छलफल कार्यक्रममा बोन्दै नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रुपमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने धारणा राखेका थिए ।

उनले संघीय सरकारले गरेका निर्णय कार्यान्वयन गर्न कठिन हुने बताउदै स्थानीय र प्रदेशलाई अधिकार दिनुपर्ने उल्लेख गरे । ब्याञ्जुले भने, “स्थानीय सरकारको अधिकारमाथि केन्द्रले हस्तक्षेप गर्नुहुन्न । त्यसैले जहाँ प्रभाव पारेको छ त्यहाँको स्थानीय सरकारले बन्दको निर्णय लिनसक्नेछ ।”

नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएको कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै सरोकारबाला मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

उनले कोभिडको महामारी फैलिएको स्थानीयतह र जिल्लाका विद्यालय मात्र बन्द गर्न सकिने उल्लेख गर्दै सबै एकैपटक बन्द गर्न नहुने सुझाव व्यक्त गरे । उनले विद्यालयहरुमा गई अनुगमन गर्नुपर्ने र समस्या देखिएमा पालिकाले निर्णय गर्नुपर्ने बताउँदै बन्द गर्नुपर्ने भएमा कक्षा १ देखि ५ सम्म गर्न सकिने बताए । महासंघका अध्यक्ष धर्मदत्त देवकोटाले अनुगमन गर्न र मापदण्ड पालना गर्न प्रेरित गर्नुपर्ने बताउँदै एकैपटक सबै स्थानमा बन्द गर्ने बारेमा नसोच्न सुझाव दिए ।

शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले उपत्यका बाहिर भयावह स्थिति नभएको बताउँदै प्रकोप देखिएको स्थानमा स्थानीय तहले समन्वय गर्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा विद्यालयहरु पुर्ण रुपमा बन्द गर्न नहुने धारणा राखे । उनले भने, ‘स्वाथ्य मन्त्रालयले जारी गरेको निर्देशिका आफैले पालना गर्न नसकेको कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको हो । शिक्षकलाई तत्काल भ्याक्सिन लगाउने व्यवस्थ होस् ।’

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले नेपालमा आतंक सिर्जना गर्न खोजेको आरोप लगाए । दुवै संस्थाका अधिकारीले १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठुलो पिडा भएको उल्लेख गर्दै अब पनि विद्यालय बन्द गर्दा निजी विद्यालयको अवस्था झन नाजुक हुदै जाने बताए । उनीहरुले भौतिकरुपमा स्कुल बन्द गर्ने समय नआएको, स्कुलमा भीड घटाउने उपाय अवलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकै दिनमा दुई सिफ्ट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्ने लगायतका विधि अपनाउन सुझाव दिए ।

प्याब्सनका सहअध्यक्ष डिके ढुंगानाले विद्यालय बन्द गर्ने विषयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन् । उनले विद्यालय बन्द गर्नुभन्दा पनि वैकल्पिक विधि अपनाउन आग्रह गर्दै अनुगमनमा जोड दिनुपर्ने बताए ।

विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. भीमप्रसाद सुवेदीले सबै विश्वविद्यालयको परीक्षाको समय नजिकिदै गइरहेको अवस्थामा शिक्षणसंस्था बन्द गर्नु गलत हुने तर्क राखे । उनले अवस्थाको विश्लेषण गरी स्थानीय सरकारलाई बन्द गर्ने वा खोल्ने अधिकार दिनुपर्ने धारणा राखे ।

आयोगका सदस्य सचिव प्रा.डा. शङ्करप्रसाद भण्डारीले निर्णयलाई विकेन्द्रीत गरी प्रभावकारी अनुगमन गर्नुपर्ने भन्दै अवस्था हेरेर विश्वविद्यालयले निर्णय गर्न सक्ने स्पष्ट पारे । छलफलमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले केन्द्रीय ढङ्गले सबै बन्द गर्नु जरुरी नभएको बताउँदै अनुगमनलाई कडाइका साथ पालना गर्नुपर्ने बताए । उनले शिक्षा मन्त्रालयको अधिकारलाई अन्य मन्त्रालयले हस्तक्षेप गर्न थालेको बताउँदै मन्त्रानलये ठोस निर्णय गर्नुपर्ने उल्लेख गरे । सिटिइभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले शिक्षणसंस्था बन्द गर्दा केन्द्रिकृत निर्णय अपरिहार्य रहेको सुझाव दिए ।

शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने बताए । अधिकार बाडफाडका बिषयमा निर्णय हुन बाँकी रहेको उनको भनाइ थियो । उनले भने, ‘तपाईहरु सबैको सुझाब ग्रहण गरेका छौ । मन्त्री ज्युको निर्देशन अनुसार मन्त्रालयले ठोस निर्णय गर्नेछ । उहाले सबै सुझालाई गहन रुपमा विश्लेषण गरी निर्णय गर्नेछौ ।’

शिक्षा मन्त्रालयलका प्रवक्ता दीपक शर्माले सञ्चार माध्यममा विद्यालय बन्द हुने प्रस्ताव गरिएको भन्ने गलत समाचार आइरहेको बताउँदै सरोकारवालाको सुझावका आधारमा मन्त्रालयले निर्णय गर्ने बताए । उनले सबै सरोकारवालासँगको छलफलबाट आएको निचोडलाई अध्ययन गरी मन्त्री र मन्त्रालयका सबैको निर्णय अनुसार अघि बढ्ने उनको भनाई छ ।

प्रतिक्रिया