प्रचण्डद्वारा नयाँ सरकार गठनका लागि सबै पक्षलाई एकताबद्ध हुन आह्वान

नेपालखोज २०७८ वैशाख १ गते ११:१४


काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार गठनका लागि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेका छन् । देशलाई अग्रगतिमा लैजान र जनताको विकास र समृद्धिको आकांक्षा पूरा गर्न नयाँ सरकार गठन अपरिहार्य भएको पनि उनकाे दाबी छ ।

उनले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भएर मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका छन् । प्रचण्डले कम्युनिष्ट आन्दोलनको एकताको झण्डालाई फेरि पनि माथि उठाउँदै अग्रगामी क्रान्तिकारी बाम ऐक्यबद्धताका लागि अपिल गरेका छन् ।

नयाँ वर्ष २०७८ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनका लागि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनी नेतृत्वको सरकारको विकल्प खोज्न अब ढिला गर्न नहुने उनको धारणा छ । सन्देशमा प्रचण्डले भनेका छन्, ‘अबको हाम्रो समाजवाद कस्तो हुने, यसको अर्थ नीति र राजनीति कस्तो हुने र राज्य संरचना कस्तो हुने भन्ने प्रश्नको जवाफ हामीले दिनुपर्ने भएको छ ।’

प्रतिक्रिया