सुदूरपश्चिममा ‘बिसु’ पर्व मनाइँदै

कैलाली । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिस’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ ।
बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् । पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन ।
कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन् ।
यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द-भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ । “यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन हो”, स्थानीयवासी भोजराज बडूले भन्नुभयो, “तराईमा सिस्नु नपाउँदा भने सिस्नुपानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था भने छैन ।”
तराईका जिल्लाभन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत छ ।
यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् । घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।

प्रतिक्रिया