सांसदकै घरमा ढुंगा प्रहार, सर्वसाधारणकाे अवस्था कस्ताे हाेला ?

नेपालखोज २०७८ वैशाख २ गते १३:२३

काठमाडौं । प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलकाे घरमा गएराति ढुंगा प्रहार भएकाे छ । सांसदकाे घरमा त ढुंगा प्रहार हुन्छ भने जनसामान्यकाे अवस्था कस्ताे हाेला ? राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा उनले यसकाे जानकारी गराएका हुन् । राति १२ बजे उनकाे घरमा ढुंगा प्रहार भएकाे रावलले जनाए ।

उनले भनेका छन् ‘राति १२ बजे ढोकामा कसैले ढुंगा हान्यो,’ समिति बैठकमा उनले भने, ‘हामी उठ्यौं । पाँच/दश मिनेटपछि फेरि ढुंगा हान्यो । मैले प्रहरीलाई जानकारी दिन धेरै प्रयत्न गरेँ । तर, धेरै प्रयास गर्दा मात्रै हनुमान ढोका प्रहरीसँग सम्पर्क भयो । खबर गरेको ४५ मिनेटपछि मात्रै प्रहरी आइपुग्यो ।’

सरकारले सांसदलाई त सुरक्षा दिन सक्तैन भने जनसामान्यले सरकारबाट सुरक्षाकाे कस्ताे सुरक्षाकाे अपेक्षा गर्नु ?

उनले यस्ता घटनामा तत्काल प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने समेत बताए । घटनाको छानबिन गर्न उनले माग गरे । ‘मेरो कसैसँग रिसिइबी छैन,’ उनले भने, ‘घरधनी कानुन व्यवसायी हुनुहुन्छ । उहाँको के छ थाहा छैन । यो कसले किन गर्यो ? तुरन्त छानबिन गरियोस् ।’

प्रतिक्रिया