सुशासन समितिको निर्देशन : डिएनए सङ्कलन भएपछि मात्र बेवारिसे शव व्यवस्थापन गर्नू

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतकाे राज्य व्यवस्था तथा सुशासन समितिले बेबारिसे शवको बायोमेट्रिक औंठाछाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापन गर्न निर्देशन दिएको छ ।
बिहीबार समितिको बैठकले अस्पतालमा रहेका बेवारिसे शवको विस्तृत विवरण सहित छुट्टै वेव पेज वा डोमेन बनाई सञ्चार माध्यमबाट बढिभन्दा बढी सूचना सम्प्रेषण गरी हरेक शवको वायोमेट्रिक औँठा छाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्रै शव व्यवस्थापनको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
त्यसैगरी, बेवारिसे शव व्यवस्थापन निर्देशिका छिटो पारित गरेर कार्यान्वयनमा ल्याउन र बेबारिसे शवको सम्बन्धमा जिल्ला स्थित सरकारी वकिल कार्यालय, जिल्ला अस्पताल र नेपाल प्रहरीको फरक फरक तथ्याङ्क भएकाले तिनै निकायबीच समन्वय गरी एउटै तथ्याङ्क आउने व्यवस्था गर्न समेत निर्देशन दिएको छ ।
समितिको निर्देशन बारे जानकारी दिदैँ समिति सभापति शशी श्रेष्ठले भने ‘हाल अस्पतालमा रहेका बेवारिसे शवको प्रष्ट मुखाकृति देखिने फोटो एवम् हुलियासहितको अभिलेख विवरण नेपाल प्रहरीको वेवसाइट मार्फत् सार्वजनिक गरिदै आएको छ । अब उप्रान्त अस्पतालमा रहेका प्रत्येक पहिचान नखुलेका बेवारिसे शवको विस्तृत विवरण सहित छुट्टै वेव पेज वा डोमेन निर्माण गर्नुपर्छ । सञ्चारका विभिन्न माध्यम तथा सामाजिक सञ्जालहरुबाट अधिकभन्दा अधिक सूचना सम्प्रेषण गर्नुपर्छ । हरेक शवको वायोमेट्रिक औँठा छाप र डिएनए नमुना सङ्कलन भएको एकिन भएपछि मात्र शव व्यवस्थापन गर्ने व्यवस्था मिलाउनु पर्छ । वेवारिसे शव सम्बन्धी जिल्लास्थित जिल्ला सरकारी वकिल, जिल्ला अस्पताल र नेपाल प्रहरीको वेवसाइटमा फरक फरक तथ्याङ्क उपलब्ध हुने गरेकोले ती निकायहरुबीच समन्वय गरी एउटै तथ्याङ्क आउने व्यवस्था मिलाउनुपर्छ ।’

प्रतिक्रिया