वागमती प्रदेश सभा बैठक स्थगित, माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी

मकवानपुर । वागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले प्रदेश सभा बैठकमा अवरोध गरेको छ ।
विद्युतीय बस खरिद प्रक्रिया रोक्नुपर्ने र मदन भण्डारी फाउन्डेशनलाई उपलब्ध गराइने ५० लाख रुपैयाँ तत्काल रोक्न माग गर्दै माओवादीले बिहीवारको प्रदेश सभा बैठक चल्न नदिएको हो ।
माओवादीले बैठकमा अवरोध सिर्जना गरेसँगै सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेका छन् । माओवादीले सदन अवरोध गरेको योसँगै लगातार चौथो पटक हो ।
‘विद्युतीय बस सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार भएको छैन । यस्तो अवस्थामा बस सञ्चालन गर्न सकिँदैन । तत्काल यो बस खरिद प्रक्रिया रोक्न जरुरी रहेको छ’, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने। उनले आफूहरूको माग पूरा नभएसम्म सदन सञ्चालन गर्न नदिने चेतावनी पनि दिए ।
माओवादीको मागमा नेपाली कांग्रेस, विवेकशील साझा तथा अन्य साना दलहले समेत समर्थन जनाएका छन् ।

प्रतिक्रिया