मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत हाल्न अनुरोध

कर्णाली । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेका छन् ।
एक सार्वजनिक अपिल जारी गर्दै आज उहाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दल र सभा सदस्यलाई नेकपा (माओवादी केन्द्र) प्रदेशसभादलका नेता तथा मुख्यमन्त्री शाहीको पक्षमा मत दिन अपिल गरेका हुन् ।
माओवादी केन्द्र नेतृत्वको सरकारले तीन वर्षदेखि कर्णालीको तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ लागि परेको जिकिर गर्दै उनले यहाँको विकास र समृद्धिमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सदस्य एकताबद्ध रहेको तथ्य स्पष्ट भएको बताए ।
उनले भने, “प्रदेशसभामा व्यक्त सार्वजनिक प्रतिवद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा (एमाले) ले हाम्रो दल नेतृत्वको प्रदेश सरकारबाट समर्थ फिर्ता लिएको छ, यस कदमले राजनीतिक अस्थिरता निम्तिनुका साथै कर्णालीको समग्र विकास र समृद्धिको जनअपेक्षामा कुठाराघात हुने सुनिश्चित छ ।”
प्रतिक्रिया