‘नेपाल-भारतबीचको समस्या छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्छ’

नेपालखोज २०७८ वैशाख ३ गते १६:५२

काठमाडौं । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल र भारतकोबीचमा देखिएका सबै समस्यालाई छलफल र संवादबाट आपसी समझदारीमा हल गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल भारत मैत्री संघका नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले नेपाल र भारतबीचमा देखिएको सीमा समस्यालगायत सबै खाले समस्याको समाधान आपसी समझदारीमा गर्न सकिने बताए ।

इतिहासले बाँकी राखिदिएका त्यस्ता समस्या समाधान गर्न र सीमालागयतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरुलाई दुवै देशले एक आपसमा विश्वासका साथ छलफल गरेर जान सके समाधान हुने उनको विश्वास छ ।

उनले भने, ‘दुई देशकाबीचमा केही इतिहासले बाँकी राखिदिएका समस्याहरु, इतिहासले नसुल्झाइदिएका र अधुरै छोडेका समस्याहरु छन । सीमालगायतका कतिपय सन्धी सम्झौताहरुमा नमिलेका विषयहरु छन, जसलाई उच्च विश्वासका साथ हामीले छलफल गरेर अगाडि बढाउन सक्छौं । पोलिटिकल्ली एउटा अण्डरस्ट्याण्डिङ्ग भयो भने र दुवै देशले एक आपसमा विश्वासका साथ अगाडि बढेर जान सक्यौं भने मलाई लाग्छ इतिहासले अधुरो छोडेका यी समस्याहरुलाई समाधान गर्न कुनै गाह्रो छैन ।’

नेपालले भारतसँग भएका कुनैपनि समस्याहरु समाधान गर्न सकिदैन भन्ने नठानेको पनि स्पष्ट पारे । नेपाल र भारत एक आपसमा प्रतिस्पर्धी मुलुक नभई मित्र भएकाले कुनैपनि समस्या समाधान गर्नका लागि समस्या नहुने बताए । परराष्ट्र मन्त्री ज्ञवालीले कोभिडविरुद्धको लडाईमा नेपाल र भारत एकसाथ अगाडि बढेको पनि बताए । नेपालका लागि भारतले कोभिडविरुद्धको खोप उपलब्ध गराएर सहयोग गरेको पनि बताए ।

त्यस्तै नेपाल र भारतबीच खुला सिमाना रहेको र मानिसहरुको आवगमनका कारण कोभिड महामारी फैलन नदिन दुवै देशले सहकार्य गरी काम गरिराखेको पनि उनले बताए ।

प्रतिक्रिया