शनिबार, असार २१, २०८२

भारतबाट जीटुजी सम्झौतामार्फत रासायनिक मल ल्याउने तयारी

नेपालखोज २०७८ वैशाख ६ गते ७:२५

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजी (सरकार–सरकार) सम्झौतामार्फत रासायनिक मल ल्याउने भएको छ । सम्झौताका लागि दुवैतर्फबाट कागजात अदानप्रदान भएपछि अन्तिम सम्झौताका लागि तयारी भइरहेको कृषि मन्त्रालयका सचिव डा।योगेन्द्र कार्कीले बताए ।

उनले भने, भारतसँग पाँच वर्षका लागि सम्झौतापत्रमा हस्ताक्षर हुन गइरहेको छ, यो सम्झौता भएपछि पाँच वर्षका लागि रासायनिक मलको समस्या हट्ने विश्वास हामीले लिएका छौँ । सुरुको वर्ष दुई लाख माग गर्ने त्यसपछि वर्षैपिच्छे बढाउँदै जाने र पाँच लाख मेट्रिक टनसम्म मल भारतबाट ल्याउने सम्झौता हुन गइरहेको उनले बताए ।

भारतबाट युरिया र डीएपी रासायनिक मल मात्र ल्याउने मन्त्रालयले जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ कि नेपालबाट पठाइएको सम्झौतापत्रको मस्यौदा बारे भारतले सकारात्मक प्रतिक्रिया दिएको छ, अब सम्झौतापत्रमा हस्ताक्षर हुने गरी तयारी भइरहेको उनले बताए ।

यसअघि कृषि मन्त्रालयले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन युरिया मल ल्याउने भनी जीटुजी सम्झौता गरेको थियो । त्यसमध्ये २२ हजार पाँच सय मेट्रिक टन नेपाल ल्याइसकेको छ । दोस्रो लटको १० हजार मेट्रिक टन मल आउने क्रममा रहेको छ ।

त्यस्तै टेन्डरमार्फत चीनबाट चार हजार मेट्रिक टन युरिया मल नेपालले ल्याइसकेको छ ।

प्रतिक्रिया