मंगलबार, वैशाख ११, २०८१

‘जति काम गरें इमानदारपूर्वक गरें’

नेपालखोज २०७८ वैशाख ६ गते १४:०६

सुदूरपश्चिम प्रदेशको एउटा जिल्ला दार्चुला । दार्चुला जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले सिद्धराज जोशी कार्यरत छन् । झन्डै २२ वर्ष निजामती सेवामा बिताएका जोशी २०७७ फागुन २३ गते प्रजिअका रूपमा दार्चुला पुगेका हुन् । यसअघि उनी उद्योग मन्त्रालयअन्तर्गत खानी तथा भूगर्भ विभाग काठमाडौंमा कार्यरत थिए ।

झन्डै २२ वर्षको जागिरे जीवन १४/१५ वटा मन्त्रालयअन्तर्गतका निकायहरूमा काम गरेका जोशी जहाँ पुग्छन् इमानदार छविका प्रशासकका रूपमा परिचित छन् । ‘आफ्नो जागिरे जीवनमा जति काम गरें इमानदारपूर्वक गरें,’ उनी भन्छन्, ‘जुनसुकै जिल्लामा पनि काम गर्दा प्रशंसनीय भएर नै काम गरें ।’

आफ्नो व्यावसायिक मर्यादा कायम गरेर इमादारीपूर्वक काम गर्ने हो भने जनताको गुनासो सुन्नु नपर्ने उनको विश्वास छ । ‘जनमुखी भएर नै अघि बढ्न सकिन्छ । जनताको प्यारो कर्मचारी भएर जान सकिन्छ भन्नेमा नै मेरो विश्वास छ,’ उनले सुनाए ।

सुदूरपश्चिमकै बझाङमा २०२७ साल पुस १० गते जन्मिएका जोशीको हालको बसाइ धनगढीमा रहे पनि काठमाडौंको तारकेश्वर नगरपालिकामा उनको स्थायी बसोबास छ । उनकी पत्नी किरण जोशी पनि निजामती सेवामै छिन् । किरण अहिले डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी (उप-सचिव) का रूपमा कार्यरत छिन् ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीसँग हामीले विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा जोशीसँग गरिएको कुराकानी :


तपाईंलाई निजामती सेवामा प्रवेशको चाहना कसरी भयो ?
निजामती सेवामा सबैको आकर्षण छ । निजामती सेवा भन्ने राज्यको सिन्दूर हो भन्ने परम्परागत सोचाइ पनि थियो । परिवार (आमाबुबा) को पनि यही चाहना थियो । मेरो पनि यसतर्फ निकै चाहना रह्यो । चाहना पूरा गर्न प्रयत्न गरियो र निजामती सेवामा प्रवेश गरियो ।

अहिलेको पुस्तामा निजामती सेवा आकर्षण छ कि विकर्षण ?
समग्रमा अहिले पनि निजामती सेवामा आकर्षण नै छ । निजामती सेवाका लागि लोकसेवाले एक सय पदका लागि आवेदन माग गरे पनि ८० हजारभन्दा बढीको दरखास्त परेकोबाट पनि निजामती सेवामा अहिलेको पुस्ता आकर्षित रहेको हामी पाउन सक्छौं ।

सरकारी कर्मचारी जनताका सेवक भनिए पनि जनताको मालिकजस्तो व्यवहार रहेको जनगुनासो छ नि ? यसमा के भन्नुहुन्छ ?
तपाईंले भनेको जस्तै मैले पनि कतै समाचारमा सुन्न पाएको छु । निजामती सेवा अहिले पनि जनमुखी नै छ । जनताको काममै तल्लीन छ । सिंहदरबारदेखि हुम्लाको सिमकोटसम्म कसैको उपस्थितिसमेत हुन नसक्ने ठाउँमा पनि निजामती कर्मचारीहरूले इमानदारीसाथ जनताको काम गरिरहेको हामी पाउन सक्छौं । कतिपय ठाउँमा अपवादका रूपमा होला यद्यपि समग्र निजामती कर्मचारीमा यस्तो छैन र जनताको मालिकजस्तो व्यवहार गरिनु हुँदैन भन्ने नै हो ।

तपाईंसमक्ष समस्या लिएर आउने सेवाग्राही कस्ता छन्, कस्ता समस्या लिएर आउँछन् र सेवाग्राहीका समस्या समाधानमा कति सफल भएजस्तो लाग्छ ?
दार्चुलामा म प्रमुख जिल्ला अधिकारी भएर आएको आज (२०७८ वैशाख ५ गते) मलाई ४२ दिन भयो । यो ४२ दिनको दौरानमा यहाँ करिब ८/९ वर्षदेखि एउटा विकास निर्माणको काममा अवरोध सिर्जना भएको थियो । पुल निर्माणका क्रममा मुआब्जाका विषयमा विवाद थियो । यहाँ ८/९ वटा प्रजिअहरू आएर जाँदासमेत त्यो समस्या समाधान भएको थिएन । म प्रजिअका रूपमा दार्चुला आउनेबित्तिकै सर्वपक्षीय सम्मेलन गरेर, सरोकारवालाहरूलाई राखेर उक्त समस्या समाधान गरेर अघि बढें । यसमा यहाँका जनता एकदमै खुसी पनि भए । जिल्ला प्रशासन कार्यालय दार्चुलामा आउनेबित्तिकै सेवाग्राहीलाई सेवा दिन सहज वातावरण सिर्जना गर्नुपर्छ सबै सेवाग्राहीलाई निःशुल्क फोटोकपीको व्यवस्था मिलाएको छु । म यहाँ आएबाट अहिलेसम्म मैले सेवाग्राहीका कुनै गुनासो सुन्नुपरेको छैन । सबै खुसी छन् भन्ने लाग्छ मलाई ।

करिब २२ वर्षे जागिरे जीवनमा तपाईसँग आएका सेवाग्राही जो निकै खुसी भएर फर्किएको होस् अर्थात् तपाईंको सम्झनामा रहेको कुनै त्यस्तो सेवाग्राहीबारे बताइदिनुस् न जसबाट तपाईंलाई कहिल्यै नभुल्ने अत्मसन्तुष्टि प्राप्त भएको छ ।
आफूले गरेको कामबाट आत्मसन्तुष्टि मिलेका धेरै घटनाहरू छन् । बैतडीमा म प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदाखेरी त्यहाँ एक ७५ वर्षीय वृद्धले गिट्टी कुटेको । त्यसको भुक्तानीसमेत नपाएको अवस्था थियो । सबै सरोकारवालालाई एक ठाउँमा भेला गराएर गिट्टी कुटेबापत पाउनुपर्ने दुई वर्षदेखिको भुक्तानी मेरै पहलमा दिलाइयो । ती वृद्ध भुक्तानी पाएपछि मलाई अँगालो हालेर खुसीले रुनुभयो । यो घटना म कहिल्यै भुल्न सक्दिनँ । यो अझै मनमा बसिरहेको छ ।

तपाईंको विचारमा निजामती कर्मचारीका पीडा त होलान्, जसलाई सेवाग्राही अर्थात् जनताले बुझ्दैनन् ?
सर्वप्रथम जनचेतनाको कमी छ । संविधान, ऐन, कानुन, विधि, मापदण्ड, प्रक्रियाबारे जनताले बुझिदिएको खण्डमा काम गर्ने र गराउने दुवैलाई सहज हुने थियो । यी यावत् कुराहरू नबुझेर जनताले आफ्ना मात्रै समस्या हुन्, मेरो मात्रै समस्या समाधान होस् भन्ने अपेक्षा लिने सेवाग्राहीहरू हुनुहुन्छ उहाँहरू त्यस्ता किसिमका धारणाहरू सार्वजनिक हुन्छन् । आफ्नो मात्र काम गरिदिनुपर्छ भन्ने भावना सेवाग्राहीले त्याग्नुपर्छ । विधि, ऐन, प्रक्रियामा आएका सबै काम सम्पादन हुन्छन् भन्ने कुरा सेवाग्राहीले पनि बुझ्न जरुरी छ ।
सेवा दिने र सेवा लिनेले आफ्नो जिम्मेवारी के हो ?, कर्तव्य के हो ?, अधिकार के हो ? भनेर बुझ्ने र बुझेर व्यवहार गर्ने हो भने यस्ता समस्या समाधान भएर जान्छन् भन्ने लाग्छ मलाई ।

अहिले तपाईंको जिल्लाको शान्ति–सुरक्षाको अवस्था कस्तो छ ?
अहिले समग्र जिल्लाको शान्ति–सुरक्षाको अवस्था ठीकै छ । सामान्य नै छ । अहिले कोरोना भाइरसको दोस्रो लहरका कारण यहाँका मानिस तरंगित नै छन् । हामीले सीमानाकामा स्वास्थ्य परीक्षणको व्यवस्था पनि मिलाएका छौं । एकजना कोरोना पोजेटिभ पनि देखिनुभएको छ । उहाँ अहिले अस्पतालको आइसोलेसनमा हुनुहुन्छ । जिल्लाको शान्ति–सुरक्षाको अवस्था चुस्त–दुरुस्तै छ । सामान्य नै छ ।

परिवार र जागिरको तालमेल कसरी मिलाउनुहुन्छ ?
मेरो ६ जनाको परिवार छ । छोरा क्यानडा पढ्दै छ, छोरी काठमाडौंमा पढ्दैछिन् । बुबाआमा धनगढीमा हुनुहुन्छ । श्रीमतीजी डोटीमा सहायक प्रमुख जिल्ला अधिकारी (उप–सचिव) का रूपमा निजामती सेवामै हुनुहुन्छ । मचाहिँ प्रमुख जिल्ला अधिकारी भएर दार्चुलामा छु । ६ जनाको परिवार पाँच ठाउँमा बस्नुपर्ने अवस्था हुँदा सबै व्यवस्थापन मिलाउन अलि असहज हुन्छ नै । तर पनि अहिलेसम्म व्यवस्थापन गर्दै आएका छु । सबै आ–आफ्नै ठाउँमा खुसी छन् र आ–आफ्नै तरिकाबाट व्यवस्थापन मिलाइरहेका छौं ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ आजदेखि सुरु गरिएको नयाँ स्तम्भ हो । यसमा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्नेछौं ।)

प्रतिक्रिया