शुक्रबार, वैशाख ७, २०८१

‘दाजुको प्रेरणाले निजामतीतर्फ आएँ, जनताकै सेवामा रमाएको छु’

नेपालखोज २०७८ असार २८ गते ९:४८

‘जनतालाई सेवा गर्ने अवसर पाइने भएकाले निजामती सेवातर्फ आकर्षित भएँ’

गण्डकी प्रदेशको हिमाली जिल्ला मनाङ । मनाङको प्रशासनिक नेतृत्व अहिले कास्कीका विष्णु लामिछानेको काँधमा छ । २०७७ पुस १९ गतेदेखि मनाङ जिल्लाको नेतृत्व सम्हालिरहेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) लामिछाने कुशल प्रशासकका रूपमा परिचित छन् ।

जिल्लाको शान्ति–सुरक्षा, वस्तुअवस्थिति, कोरोना संक्रमितको अवस्था, प्राकृतिक प्रकोपको जोखिमलगायत विषयमा प्रजिअ लामिछानेलाई यसपालिको ‘प्रजिअसँग शम्भु’मा निम्त्याएका छौं ।
कास्की स्थायी घर रहेका लामिछानेले निजामती सेवामा ३० वर्ष बिताइसकेका छन् । मनाङका प्रजिअ लामिछाने यसअघि गृह मन्त्रालय तथा त्योभन्दा अघि राष्ट्रिय पुनर्निर्माण प्रधिकरण काठमाडौंमा कार्यरत थिए । कामका दौरान विभिन्न क्षेत्रबाट आउने दबाब पनि उनले नझेलेका होइनन् । तर जति दबाब आए पनि कर्मचारीले नियम–कानुनभित्रै रहेर कार्य सम्पादन गर्ने उनी बताउँछन् । ‘दबाब त पक्कै पनि आउँछन् । कहिलेकाहीँ कानुनले नमिल्ने कुराहरूका लागि दबाबहरू आउँछन्,’ प्रजिअ लामिछाने भन्छन् ।
कसैलाई भनसुन गर्नु नपर्ने र लोकसेवा आयोगको निष्पक्ष परीक्षा प्रणालीकै कारण आफू निजामती सेवातर्फ आकर्षित भएको उनको भनाइ छ । अझ उनका दाजु पनि निजामती सेवामै रहेको हुँदा आफूलाई यसतर्फ आउन थप मद्दत मिलेको प्रजिअ लामिछाने बताउँछन् ।
उनका अनुसार बाढी–पहिरोले मनाङ पनि निकै प्रभावित भएको छ । नेपालखोजसँगको कुराकानी पनि प्रजिअ लामिछानेले बाढी–पहिरोबाट अति प्रभावित बनेको मनाङको ताल भन्ने स्थानको अनुगमन गरी फर्कंदै गर्दा बाटोबाट हिँड्दै गरेका हुन् । उनी जिल्लाका बाढी–पहिरो प्रभावितलाई राहत, उद्धार तथा अनुगमनमा निकै व्यस्त छन् आजभोलि । उसो त हिजो (आइतबार) मात्र ताल क्षेत्रको अनुगमनबाट फर्किएका प्रजिअ लामिछाने आज (सोमबार) बिहान पनि बाढी–पहिरोको अनुगमन, क्षति तथा कसरी राहत उपलब्ध गराउन सकिन्छ भनेर प्रभावित क्षेत्रतर्फ लागेका छन् । ‘भरखर म बाढी प्रभावित अर्को क्षेत्रमा जाँदै छु, कसरी उद्धार गर्न सकिन्छ भन्नेमा जुटेको छु,’ उनले आज (सोमबार, असार २८ गते बिहान) फोनमा भने ।
मानवीय क्षति नभए पनि भौतिक क्षतिले मनाङ पीडामा रहेको उनले सुनाए । ‘बाढी–पहिरोले जिल्लाको अवस्था एकदमै पीडादायी छ । गत जेठ १४ देखि १६ गतेसम्म पहिलो बाढी आयो । तीनवटा काठे पुल र दुईवटा पक्की पुल बगाएर जिल्लाको यातयात अवरुद्ध भएको हो,’ प्रजिअ लामिछानेले नेपालखोजलाई सुनाए ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग हामीले यस्तै–यस्तै विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा लामिछानेसँग गरिएको कुराकानी :

हाइलाइट्स ::

– जिल्लामा अहिले आठजना कोभिड संक्रमित छन् । धेरैलाई सन्चो भइसक्यो । अहिले हामी बाढी–पहिरोको समस्यामा जुधिरहेका छौं ।
– हामीले मनाङमा गरेको सबैभन्दा राम्रो कुरा खोप नै हो । लक्षित वर्गमा करिब सय प्रतिशतको हाराहारीमा हामीले खोप पुर्‍याउन सक्यौं ।
– खोपको प्रबन्ध हामीले एकदमै राम्रोसँग गर्न सक्यौं । अत्यन्तै दुर्गम ठाउँमा पनि हामीले समयमै खोप पुर्‍याउन सक्यौं । त्यसले गर्दा कोरोनाको गम्भीर रूप देख्नु परेन ।
– कोरोनाका कारण जिल्लामा कोभिडको कारणले एकजनाको पनि मृत्यु भएको छैन । यहाँबाट रिफर भएर पोखरा गएर दुईजनाको मृत्यु भएको छ ।
– अहिले सक्रिय संक्रमण एकदमै न्यून छ । कोरोना नियन्त्रणमा हामी सफल नै भएको जस्तो लाग्छ । हामीले यहाँ निषेधाज्ञा पनि जारी गर्नुपरेन ।
– बाढी–पहिरोले जिल्लाको अवस्था एकदमै पीडादायी छ । गत जेठ १४ देखि १६ गतेसम्म पहिलो बाढी आयो । तीनवटा काठे पुल र दुईवटा पक्की पुल बगाएर जिल्लाको यातयात अवरुद्ध भएको हो ।
– जेठ २९ गतेदेखि असार ३ गतेसम्म यहाँ ठूलो वर्षा भयो । अहिलेसम्म नदेदखेको वर्षा भयो ।
– बाढी–पहिरोले सबैभन्दा ठूलो क्षति यहाँको सडकलाई गरेको छ ।
– सदरमुकामबाट करिब ३५ किलोमिटर हामी एकदमै जोखिम उठाएर पैदल सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र इन्जिनियरहरूको समेतको टिम लिएर म तालसम्म पुगे । सबैभन्दा बढी क्षति भएको चाहिँ ताल भन्ने स्थान नै हो ।
– तालका ६२ वटा घरहरूमा ६५ प्रतिशत घरहरूमा क्षति पुगेको अवस्था छ । त्यहाँ पुगेर हामीले स्थानीयसँग अन्तक्र्रिया गर्‍यौं । उहाँहरूले पुनर्वासको कुरा गर्नुभयो । स्थानान्तरणको कुरा गर्नुभयो ।
– हामीले अनुमान गरेरै वर्षा सुरु हुनुभन्दा धेरैअघि नै यसपालि धेरै र चाँडै मनुसुन हुने पूर्वजानकारी पाएका थियौं । यहीअनुरूप पूर्वतयारी स्वरूप हाम्रो तटीय क्षेत्रका बासिन्दा, प्रतिनिधिहरू र खासगरी तालका वडाध्यक्षहरू स्थानीय जनप्रतिनिधिहरू र शिक्षकहरूलाई हामीले सचेत गराएका थियौं ।
– अहिलेसम्म मनाङ जिल्लामा बाढी–पहिरोका कारण एकजनाको पनि ज्यान गएको छैन । भौतिक क्षति भने धेरै भएको छ ।
–यहाँको बिजुलीको केन्द्रीय प्रसाराण लाइन भर्खरै जोडिएको थियो । त्यसमा पनि एकदमै क्षति पुगेको अवस्था छ । पोलहरू लडेका छन् । तारहरू लत्रिएका छन् ।
– विभिन्न ठाउँमा पहिरो गएको छ । सडक पनि एकदम क्षत–विक्षत् अवस्थामा छ । तर हामीले परिकल्पना गरेकोभन्दा अझ कम विभत्स रूप पाएका छौं ।
– विस्फोट नगरी बाटो बन्दैन भनेर हामीले सुनेका थियौं तर विस्फोट नगरी पनि बाटो बन्ने अवस्था हामीले देखेका छौं । सम्बन्धित ठाउँमा हामी त्यसको रिपोर्टिङ गर्नेछौं ।
– आज हामी अनुगमनबाट फर्किंदै छौं । हामी बाटैमा छौं । हामीले अनुगमनको काम गरेर र कुन ठाउँमा के आवश्यकता हो भन्ने कुराहरू हेरेर आएका छौं ।
– मनाङका अधिकांश बस्ती मर्स्याङ्दीकिनारमा अवस्थित छन् । त्यहाँ राम्रोसँग तटबन्ध नगरे ढिलो–चाँडो बस्ती नै जोखिमा पर्ने स्थिति छ ।
– गृह मन्त्रालयमार्फत सेनाको हेलिकोप्टरबाट १६४ बाढी प्रभावितलाई उद्धार गरेका छौं ।
– पहिलो प्राथाकिता हामीले उद्धारलाई लियौं । उद्धार गरिएकालाई सामुदायिक भवन, स्कुलमा राखेका छौं ।
– अहिले खाद्यान्नको समस्या त छैन । खाद्यान्नै डुबेको, बगाएर लगेको अवस्था भने कमै छ । अहिले कोही पनि खानको समस्याले मर्नुपर्ने अवस्था छैन ।
– बाढी–पहिरोले मात्र सञ्चार प्रवाहमा समस्या उत्पन्न भएको जस्तो मलाई लाग्दैन । यहाँको भौगोलिक अवस्था जटिल छ । यहाँका सोलार सिस्टमबाट विद्युत् प्रवाहमा समस्या हुँदा सञ्चारमा पनि अलिअलि समस्या देखिएको हो ।
– सेवाग्राहीको समस्या समाधान गर्न म आफूलाई एकदम समर्पित बनाएको छु ।
– मैले मनाङ जिल्लाका बासिन्दालाई राम्रो सेवा सरकारका तर्फबाट दिन सकियोस्, पूर्वाधार विकास गर्न सकियोस् भनेरै सबै क्षेत्रको ध्यानाकर्षणसमेत गराएको छु । आफू गर्ने काममा कमी–कमजोरी आउन नदिन हरपल प्रयत्नरत छु ।
– कामका दौरान दबाब पक्कै पनि आउँछन् । कहिलेकाहीँ कानुनले नमिल्ने कुराहरूका लागि दबाबहरू पनि आउँछन् ।
– यो तिब्बतियन शरणार्थी भएको जिल्ला पनि हो । उनीहरू ६०–७० वर्र्षदेखि यहाँ बसिरहेका छन् । सन्तान तेस्रो पुस्तासम्म भइसकेका छन् । उनीहरूसँग न नागरिकता छ न कुनै कागजात छ । कानुनअनुसार हामीले नागरिकता दिन सक्दैनौं । हामीलाई पनि दुःख लाग्छ ।

मनाङ जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
जिल्लामा अहिले करिब आठजना मात्रै संक्रमित हुनुहुन्छ । धेरैलाई सन्चो भइसक्यो । बरु अहिले हामी बाढी–पहिरोको समस्यामा जुधिरहेका छौं । (अपडेट : सोमबार बिहान साढे ८ बजेको तथ्यांकअनुसार संक्रमितको संख्या १६ पुगेको छ । )

मनाङ जिल्लामा कोरोना संक्रमितको व्यवस्थापन कसरी गर्नुभयो ?
हामीले मनाङमा गरेको सबैभन्दा राम्रो कुरा भ्याक्सिनेट हो । लक्षित वर्गमा करिब सय प्रतिशतको हाराहारीमा हामीले खोप पुर्‍याउन सक्यौं । यो उच्च हिमाली क्षेत्र र स्वास्थ्यको पनि राम्रो सुविधा नभएको हुनाले हामीले केन्द्रसँग समन्वय गरेर मार्फाभूमि गाउँपालिका यहाँको एकदम दुर्गम ठाउँ हो । त्यहाँका १८ वर्षभन्दा माथिका सबैलाई खोप लगाइयो । मनाङमिसाङ र नासो गाउँपालिकामा ५५ वर्षभन्दा माथिका सबैलाई खोप लगाइयो र नासो गाउँपलिकामा पनि अधिकांशलाई लगाइयो । बाँकीलाई अहिले पहिलो डोजको भेरोसेल पनि लगाइरहेको अवस्था छ । खोपको प्रबन्ध हामीले एकदमै राम्रोसँग गर्न सक्यौं । अत्यन्तै दुर्गम ठाउँमा पनि हामीले समयमै पुर्‍याउन सक्यौं । त्यसले गर्दा कोरोनाको गम्भीर रूप देख्न परेन । जिल्लामा कोभिडका कारण एकजनाले पनि ज्यान गुमाउनु परेको छैन । यहाँबाट रिफर भएर पोखरा गएर दुईजनाको भने दुखद निधन भयो । अहिले सक्रिय संक्रमण एकदमै न्यून छ । कोरोना नियन्त्रणमा हामी सफल नै भएजस्तो लाग्छ । हामीले यहाँ निषेधाज्ञा पनि जारी गर्नुपरेन । हामीले स्वअनुशासन र नियमनमा ध्यान दिनेमै जोड दियौं । स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा ध्यान दियौं । स्थानीय तह, प्रहरी, प्रशासन र हामी सबै एकजुट भएर लाग्यौं । यसले गर्दा हामी कोरोनाविरूद्धको लडाइँमा सफल भएकोजस्तो लाग्छ ।

विभिन्न जिल्लामा बाढी–पहिरोको प्रकोप बढेको सञ्चारमाध्यहरूमा आइरहेका छन् ? मनाङ जिल्लाको अवस्था कस्तो छ नि ?
बाढी–पहिरोले एकदमै पीडादायी अवस्था सिर्जना गरेको छ । गत जेठ १४ देखि १६ गतेसम्म पहिलो बाढी आयो । तीनवटा काठे पुल र दुईवटा पक्की पुल बगाएर यातायात बन्द भएको हो । २९ गतेदेखि असार ३ गतेसम्म यहाँ ठूलो वर्षा भयो । अहिलेसम्म नदेखेको वर्षा भयो । त्यो वर्षाको कारण अएको मर्स्याङ्दी र यहाँका दुईवटा ठाडाखोला र अन्य खोलाले क्षति पुर्‍याए । सबैभन्दा ठूलो क्षति यहाँ सडकलाई गरेको छ । सदरमुकामबाट करिब ३५ किलोमिटर हामी एकदमै जोखिम उठाएर पैदलै सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान र इन्जिनियरहरूको समेतको टिम लिएर म ताल भन्ने ठाउँसम्मै पुगें । सबैभन्दा बढी क्षति भएको स्थान पनि ताल नै हो । यो नासो गाउँपालिका वडा नम्बर १ मा पर्छ । त्यहाँका ६२ वटा घरहरूमध्ये ६५ प्रतिशतमा क्षति पुगेको अवस्था छ । त्यहाँ पुगेर हामीले स्थानीयसँग अन्तक्र्रिया गर्‍यौं । उहाँहरूले पुनर्वासको कुरा गर्नुभयो । स्थानान्तरणको कुरा गर्नुभयो । अब यहाँ बस्न सकिँदैन यो एकदम जोखिमपूर्ण ठाउँ छ । त्यसकारण सरकारले हामीलाई स्थानान्तरण गरिदिनुपर्‍यो भनेर माग गर्नुभएको छ । स्थानीय तहसँग छलफल गरेर एकमतका साथ आउनुस् छलफल गरौंला, अगाडि बढौंला मैले भनेको छु । वास्तवमा ताल भन्ने ठाउँ एकदम जोखिमयुक्त ठाउँ पनि हो । नदी किनारमा छ । फराकिलो छ र त्यहाँ सधैं ताल बन्ने र सधैं जोखिम हुने पहिलादेखिकै अवस्था हो । यसपालि अलि विभत्स अवस्था नै देखापर्‍यो । त्यो जोखियुक्त ठाउँ हो भनेर हामीले अनुमान गरेरै वर्षा सुरु हुनुभन्दा पहिले यसपालि धेरै र चाँडै मनुसुन हुने पूर्वजानकारी पाएका थियौं । यहीअनुरूप पूर्वतयारी स्वरूप हाम्रो तटीय क्षेत्रका बासिन्दा, प्रतिनिधिहरू र खासगरी तालका वडाध्यक्षहरू स्थानीय जनप्रतिनिधिहरू र शिक्षकहरूलाई हामीले सचेत गराएका थियौं । हामीले त्यहाँ बाढी आउन सक्छ ठूलो क्षति हुन सक्छ भनेका थियौं । जुन दिन बाढी आयो हामीले तत्कालै तल फोन गरेका थियौं । ठूलो बाढी आउँदै छ तपाईहरू जोगिनुस् भन्यौं । रातको समयमा बाढी आउँदा पनि एकजनाको पनि मृत्यु भएन । मनाङ जिल्लामा अहिलेसम्म बाढी–पहिरोका कारणले कसैको पनि ज्यान गएको छैन । भौतिक सम्पत्तिमा भने क्षति एकदमै धेरै भएको छ ।

बाढी–पहिरोले विद्युत् र सडकको अवस्था कस्तो बनाएको छ ?
बिजुलीको केन्द्रीय प्रसारण लाइनमा भर्खरै जोडिएका थियौं । त्यो एकदमै क्षतविक्षत् भएको छ । पोलहरू लडेका छन् । तारहरू तल झरेका छन् । विभिन्न ठाउँमा पहिरो गएको छ । सडक पनि एकदम क्षतविक्षत् अवस्थामा छ । तर हामीले परिकल्पना गरेको भन्दा अझ कम विभत्स रूप पाएका छौं । विस्फोट नगरी बाटो बन्दैन भनेर हामीले सुनेका थियौं तर पनि बाटो बन्ने, बाटो बनाउन सकिने अवस्था हामीले देखेका छौं । सम्बन्धित ठाउँमा हामी त्यसको रिपोर्टिङ गर्नेछौं । आज (आइतबार, असार २७ गते) हामी फर्किदै छौं । अब बाँकी आठ–दश किलोमिटर बाँकी छ । हामीले अनुगमनको काम गरेर र कुन ठाउँमा के आवश्यकता हो भन्ने कुराहरू हेरेर आएका छौं । मनाङका अधिकांश बस्ती मर्स्याङ्दीको किनारमा छन् । त्यहाँ राम्रोसँग तटबन्ध नगर्ने हो भने ढिलो–चाँडो त्यहाँका सबै बस्ती जोखिममा पर्ने स्थिति हामीले देखेका छौं ।

अनि बाढी–पहिरोले सञ्चारको क्षेत्रमा कस्तो प्रभाव पारेको छ ?
बाढी–पहिरोले मात्र सञ्चार क्षेत्रको प्रवाहमा असर पारेको छजस्तो मलाई लाग्दैन । यहाँको भौगोलिक अवस्था जटिल छ । त्यहाँका सोलार सिस्टम विद्युत् प्रवाहमा समस्या हुँदा समस्याहरू देखिएका हुन् । हामीले प्रबन्धकसँग कुरा गर्‍यौं, चिठी पनि लेख्यौं, उहाँहरूले सहयोग पनि गर्नुभयो । दुर्भाग्य यहाँ घाम नलागेर सोलार चार्ज हुन सकेको छैन । त्यसले गर्दा टेलिफोनमा एकदमै समस्या छ । केही क्षेत्रमा अस्ति केही चल्यो र अहिले पुरानै अवस्थामा छ । मैले टेलिफोनको स्थानीय प्रमुखसँग कुरा गर्दा सोलार चार्ज नभएर त्यस्तो भएको कुरा गर्नुभएको थियो । दिगो हिसाबले टिकाउ हुने हिसाबले सुधार गर्नुपर्ने देखिन्छ ।

बाढी–पीडितलाई राहतका लागि जिल्ला प्रशासन कार्यालयले के गरिरहेको छ ?
हामीले असार ३ गतेदेखि नै उद्धार सुरु गर्‍यौं । गृह मन्त्रालयमार्फत सेनाको हेलिकोप्टरबाट १६४ जनाको तत्काल उद्धार गरिएको थियो । पहिलो प्राथाकिता हामीले उद्धारलाई नै लियौं । उद्धार गरिएकालाई सेल्टरको व्यवस्था सामुदायिक भवन, स्कुलमा गरियो । चामेमा नवर्निमित काराकार भवन र टेन्टहरू हामीले व्यवस्था गर्‍यौं । टेन्टमा लगभग एक हजार मानिस हुनुहुन्थ्यो । अरू स्थानमा पनि मानिसहरूलाई सेल्टरमा राखियो । उहाँहरूलाई स्थानीयतहबाट पनि खानपानको व्यवस्था गरियो । दाताहरूसँग पनि हामीले समन्वय गर्‍यौं । अहिले खाद्यान्नको समस्या भने छैन । खाद्यान्नै डुबेको, बगाएर लगेको अवस्था भने कमै छ ।

सेवाग्राहीको समस्या समाधानमा आफू कतिको सफल भएजस्तो लाग्छ ?
मचाहिँ आफैलाई एकदम समर्पित भन्नेठान्छु । मैले आफूले गर्नुपर्ने सेवा, गर्नुपर्ने सहजीकरण जिल्लाको प्रमुख जिल्ला अधिकारी भएको कारण हरेक क्षेत्रमा मैले सहजीकरण गर्नुपर्ने हुन्छ । हरेक क्षेत्रमा मैले ध्यान पुर्‍याउनुपर्ने अवस्था हुन्छ । हरेक क्षेत्र क्रियाशील बनाउनुपर्ने हुन्छ । मैले कहीँ कमजोरी गरेजस्तो लाग्दैन । मैले मनाङ जिल्लावाासीहरूका लागि राम्रो सेवा सरकारका तर्फबाट दिन सकियोस् पूर्वाधार विकास गर्न सकियोस् भनेर सबै क्षेत्रको ध्यानकर्षण गरेको छु । मैले आफूले गर्ने कामहरूमा कुनै कमी–कमजोरी गरेजस्तो लाग्दैन ।

कामका दौरान कस्ता दबाब आउँछन् ?
पक्कै पनि आउँछन् । कहिलेकाहीँ कानुनले नमिल्ने कुराहरूका लागि दबाबहरू आउँछन् । यो तिब्बती शरणार्थी भएको जिल्ला पनि हो । उनीहरू ६०–७० वर्र्षदेखि यहाँ छन् । सन्तान तेस्रो पुस्तासम्म यही भइसके । न उनीहरूसँग नागरिकता छ, न कुनै कागजात छ । कानुनअनुसार हामीले नागरिकता दिन सक्दैनौं । हामीलाई पनि दुःख लाग्छ ।
अर्कोतर्फ अहिले बाढी–पहिरोले सर्वसाधारणको घरखेत बगायो तर उहाँहरूको अर्काे घर छ बस्नलाई । काठमाडौं अथवा अन्तकतै र यहीँ पनि घर छ भने उहाँहरूले अनुदान भने पाउन सक्नुहुन्न । किनभने हाम्रो कार्यविधिले एउटा मात्र घर छ त्यो बगायो भने पाँच लाख रुपैयाँ अनुदान दिन सक्ने अवस्था रहन्छ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
मेरो दाजु हुनुहुन्थ्यो । उहाँले मिहिनेत र परिश्रम गरेर लोकसेवामा नाम निकाल्नुभयो । उहाँकै किताब हेरेर उहाँकै प्रेरणाले यतातिर आकर्षण भयो । करिअरको पनि सम्भावना भएको जनताको सेवा गर्ने अवसर पनि हुने, इमानदार भएर जनतालाई सेवा पुर्‍याउन सकिने भएकाले म निजामती सेवातिर आकर्षित भएँ । अर्को कुरा लोकसेवाको निष्पक्ष र पारदर्शी परीक्षा प्रणालीकै कारण यसतर्फ म आकर्षित भएको हुँ ।

आफ्नो पेसाप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट नै छु । अब हुन त कसैलाई पनि पुग्दैन । कामअनुसार हाम्रो तलब निकै थोरै छ । हाम्रो आवश्यकता पूरा गर्न पनि नपुग्ने खालको तलब छ । हुन त नेपाली जनताको आयस्रोतलाई र राज्यको आयलाई पनि हेर्नुपर्छ । यी सबैलाई हेर्दा असन्तोष मान्नुपर्ने अवस्था भने छैन । तर समयअनुकूल यसलाई सुधार गर्दै सामाजिक सुरक्षाको पाटो अलिकति दरिलो बनाउनुपर्ने आवश्यकता देखेको छु । अहिलेको अवस्थामा यसतर्फ आकर्षण नै छैन भन्ने कुरामा म सहमत छैन । सरकारले समयअनुकूल सुधार पनि गर्दै छ ।

मनाङ जिल्लाको शान्ति–सुरक्षाको अवस्था अहिले कस्तो छ ?
मनाङको शान्ति–सुरक्षाको अवस्था एकदम राम्रो छ । यहाँ चोरी–डकैती लुटपाटका घटना भएका छैनन् । यहाँ वर्षभरमा तीनवटा मात्र मुद्दा दर्ता भए । यसलाई अपराधमुक्त जिल्ला नै भन्नुपर्छ ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
हामीजस्तो दूरदराजमा बसेर अत्यन्त कठिन भौगोलिक अवस्थामा कठिन परिस्थिति बसेका प्रशासकहरू छौं । यहाँ जनता, राष्ट्रसेवकहरू छन्, प्रहरी सेना र हामीहरूको आवाज मुखरित गरेर राष्ट्र मूलधारको प्रवाहमा सुनाइदिने प्रयत्न तपाईंले गर्नुभएको छ । यसको म सह्राना गर्छु । र यो निरन्तरता राख्न अनुरोध गर्छु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि गण्डकी प्रदेशको पहाडी जिल्ला तनहुँका प्रजिअ सागर आचार्यसँग कुराकानी गरेका थियौं । यसपटक हामीले गण्डकी प्रदेशकै हिमाली जिल्ला मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

‘प्रजिअसँग शम्भु’ का अघिल्ला अंकहरू पढ्न तथा सुन्न छुटाउनुभए हेर्नुहोस् ।

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि !’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

प्रदीपराज कँणेल, प्रजिअ, सिरहा – ‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

उमेश पाण्डे, प्रजिअ, ताप्लेजुङ – ‘ताप्लेजुङमा अक्सिजन सिलिन्डरको अभाव छैन’

रामकुमार महतो, प्रजिअ, कञ्चनपुर – ‘सेवा प्रवाहमा व्यक्तिको स्वभावले पनि प्रभाव पार्छ’

छविलाल रिजाल, प्रजिअ, सुर्खेत – ‘धेरै विकल्प नसोची निजामती सेवामै आएँ’

प्रेमप्रसाद देवकोटा, प्रजिअ, जाजरकाेट – ‘जिल्ला प्रशासन कार्यालयप्रति जनताको एक्स्पेक्टेसन हाई हुन्छ’

चिरञ्जीवी राना, सहायक प्रजिअ, दाङ – ‘जनतालाई सेवा दिने उद्देश्यले निजामती सेवामा प्रवेश गरें’

सागर आचार्य, प्रजिअ, तनहुँ – ‘नियम-कानुन छाड्दैनौं, राजनीतिक दबाबले कार्यसम्पादनमा अप्ठ्यारो परेको छैन’

प्रतिक्रिया