बुधबार, वैशाख १२, २०८१

‘सुरुमा प्रहरी बन्ने इच्छा थियो पछि निजामतीमा आएँ’

नेपालखोज २०७८ जेठ १० गते ११:०३

प्रदेश २ मा ८ जिल्ला छन् । सबै तराई । त्यसमध्येको एक जिल्ला हो सिरहा । सिरहा जिल्लाको प्रशासनिक नेतृत्व अर्थात् प्रमुख जिल्ला अधिकारी (प्रजिअ) का रूपमा अहिले रौतहटका प्रदीपराज कँणेल कार्यरत छन् । झन्डै ३१ वर्षको निजामती सेवाको अनुभवसँगै सिरहाको प्रशासनिक नेतृत्व कँणेलले सम्हालिरहेका छन् । यसअघि उनी केन्द्रीय कारागार व्यवस्थापन विभागका महानिर्देशकका रूपमा कार्यरत थिए । उनी २०७७ असार ३० गते जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्व सम्हाल्न पुगेका हुन् । गोर्खा दक्षिणबाहु, सुप्रबल जनसेवा श्री पुरस्कार, उत्कृष्ट निजामती सेवा पुरस्कार, २०१५ मा इन्टिग्रिटी आइडलको अवार्डलगायत सम्मानबाट उनले आफूलाई अब्बल साबित गरिसकेका छन् ।

इमानदार र स्वच्छ प्रशासकको छवि बनाएका कँणेल २०१५ मा इन्टिग्रिटी आइडलको मनोनयनमा परेका थिए । उनले निजामती सेवाकै दौरान राज्यबाट पटक-पटक सम्मान पाइसकेका छन् ।
अहिले कोरोना महामारीले नेपाललगायत विश्व नै प्रभावित भएको अवस्था छ । उनले पनि सिरहा जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएकोप्रति चिन्ता जनाएका छन् । उनी भन्छन्, ‘कोरोना नियन्त्रणका लागि जिल्ला प्रशासन, सरकार तथा स्थानीय सरोकारवाला निकाय एकदमै संवेदनशील भएका काम गरिरहेको अवस्था छन् । तर यस्तो महामारीमा पनि सर्वसाधारण कन्ट्याक्ट टेसिङ गर्न नमान्ने, भोज, विवाहमा सामेल भइरहेकाले चुनौती पनि थपिएका छन् ।’
आफू निजामती सेवामा अचानक आए पनि आफ्नो कार्यप्रति पूर्ण सन्तुष्ट रहेको उनको बुझाइ छ । ‘निजामती सेवाकैै कारण मैले राज्य र जनताबाट माया पाएको छु, काममा ऊर्जा बढेको छ,’ उनी सुनाउँछन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलसँग हामीले विविध विषयमा विशेष कुराकानी गरेका छौं । नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा कँणेलसँग गरिएको कुराकानी :

हाइलाइट्स :

– जिल्लामा विगतमा निर्माण गरिएका क्वारेन्टिन ओइसोलेसन वार्डहरू परिमार्जित रूपमा चलेका छन् ।
– सिरहा अस्पताल एक किसिमले कोभिड अस्पताल नै बनेको छ । सरकारी अस्पताल र निजी अस्पताल दुवैमा कोभिड बिरामीको उपचार भइरहेको छ । यद्यपि अलि अक्सिजनको भने अभाव देखिएको छ ।
– यस्तो महामारीमा पनि मानिसहरू कन्ट्यक्ट टेसिङ गर्न नमान्ने, भोज, विवाहमा सामेल भइरहेको अवस्था छ । जिल्लामा रहेका कैदीबन्दीलाई मध्यनजर गरेर हामीले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन मर्मत गरेर आइसोलेसन वार्ड सञ्चालनमा ल्याइसकेका छौं ।
– हामीले कोभिड–१९ संक्रमण नियन्त्रण गर्न खोजे पनि, संक्रमितको संख्या, मृतकको संख्या र निको हुनेको संख्या पनि तुलनात्मक रूपमा बढिरहेको छ ।
– कोभिडको समयमा केही समस्या झेले पनि काम भने तदारुकतासाथ भइरहेको छ ।
– अक्सिजन छैन, कोभिडको बिरामी ल्याउँदै छु हेलिकोप्टरबाट । त्यहाँ सहयोग गरिदनू हामी हेलिकोप्टरबाट हिँडिसक्यौं भनेर फोन गर्ने, यता सबै व्यवस्था, चिकित्सक, एम्बुलेन्स आकस्मिक रूपमा ठिक्क पार्दा पनि बिरामी नल्याउने, प्रशासनलाई झुक्याउने घटना अलिअलि भए पनि जनताको कामप्रति भने जिल्लाका सबै सरोकारवाला समर्पित छौं ।
– भेन्टिलेटरमा आफ्नो बिरामी राखिदिएन भनेर चिकित्सकमाथि दुर्व्यवहार घटनाहरू पनि यदाकदा नभएका भने होइनन् ।
– हामीसँगै धेरै बजेट पनि छैन भएको बजेट देखिने र ठोस काममा प्रयोग गरिएको छ । यद्यपि नागरिकको अपेक्षा हामीसँग छँदै छ नि ।
– निजामती सेवामा म अचानक आएँ । प्रहरी इन्सपेक्टरमा प्रतिस्पर्धा गरे पनि असफल भएकै कारण म यता आएँ । म आफ्नो कार्यप्रति पूर्ण सन्तुष्ट छु, राज्यको जनताको माया पनि पाएकै छु ।
– सिरहाको शान्ति सुरक्षाको अवस्था एकदम सन्तुलित र अन्डरकन्ट्रोल छ । यसको अर्थ यो होइन कि सिरहामा कुनै पनि अपराधिक क्रियाकलाप भएकै छैन । समग्रमा ठीक छ, राम्रो छ ।
– दोसो लहरको कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको छ । स्थिति एकदमै डरलाग्दो भएको छ । जिल्लामा पहिले खोप लगाउन पाउँदा पनि भाग्नेहरू अहिले खोप लगाउन आतुर भइरहेको अवस्था छ ।
– अहिले नेपालको अवस्थामा कोरोनाको स्थिति झन्डै नियन्त्रण बाहिर छ । हामी सबैले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पालना गर्न आवश्यक छ ।

सिरहा जिल्लामा कोभिड संक्रमणको पछिल्लो अवस्था कस्तो छ ?
सिरहा जिल्लामा पनि कोभिडको सेकेन्ड लहर चलिराखेको छ । कोभिड पोजेटिभ भएकामध्ये केहीलाई लक्षण देखिएको छ, केहीलाई छैन । जिल्लामा विगतमा चलेको क्वारेन्टिन, आइसोलेसनहरू अहिले अलि परिमार्जित रूपमा चलेका छन् ।

सिरहा अस्पतालमा कोभिड वार्डका रूपमा एक अस्पताल नै चलिराखेको छ र निजी स्तरमा फूलकुमारी मेमोरियल हस्पिटल बन्दीपुरमा चलिराखेको छ ।
सरकारी अस्पतालका रूपमा लहानको अस्पताल र अन्य निजी स्तरका अस्पतालमा पनि लक्षण देखिएका कोभिड संक्रमितहरूलाई उपचार गर्ने काम भइराखेको छ । अलिकति अक्सिजनको अभाव देखिएको छ । हामीसँग अक्सिजन प्लान्ट नभएका कारण सिरहा अस्पतालमा भएको प्लान्टबाट रिफिल जोड्नका लागि प्रयत्न गरिराखेका छौं ।
त्यसका लागि टेन्डर प्रक्रिया अगाडि बढाएको छु, जिल्ला कोभिड कोष रकम र जिल्ला प्रशासनबाट ।
सिरहा अस्पतालमा पाँचवटा आईसीयू, चारवटा भेन्टिलेटरको सुविधा छ । डाक्टर, नर्सहरू हुनुहुन्छ । सबै चिज त छ तर पनि भेन्टिलेटरका लागि हामीसँग एक्सपर्ट नभएका कारणले चिकित्सकको रेखदेखबाट त्यहाँ सामान्य तालिम दिएर चलाइरहेको अवस्था छ ।

केही स्थानीय तहहरूले पनि काम गरेको देखिन्छ । उदाहरणका लागि गोलबजार नगरपालिकाले सय बेडको आइसोलेसन बनाएको छ । २५ बेडको नयाँ अस्पताल बनाएको छ । यो सञ्चालनमा आइसकेको छ । त्यसैगरी धनगढीमाई नगरपालिकाले पनि हस्पिटल बनाएको छ ।
सखुवानन्कारपट्टी गाउँपालिकाले पनि थोरै शय्याको भए पनि अस्पताल बनाएर चलाएको छ । कर्जना नगरपालिकामा ८–९ बेडको अस्पताल छ तर आइसोलेसन कम छ । लहान नगरपालिकाले पनि आइसोलेसन बनाइको छ ।
यावत् कुरा हुँदाहुँदै पनि सबैभन्दा प्रमुख कुरा मानिसहरू कन्ट्याक्ट ट्रेसिङ गर्न नमान्ने, भोज, भतेर र विवाहहरूमा सरिक हुने, खुला सीमा र विभिन्न खालका मानिसहरू यो काम गर्नका लागि उद्दत रहनेजस्ता लापरबाहीले कोभिड संक्रमितको संख्या बढ्दै गएको हो ।

सिरहामा लगभग पाँच सयमाथिको संख्यामा कैदीबन्दी छन् । उहाँहरूका लागि हामीले जिल्ला प्रशासन कार्यालयको पुरानो भवन मर्मत गरेर व्यवस्थित आइसोलेसन गृहका रूपमा रूपान्तरण गरिसकेका छौं ।

यी सबै कुरा भए पनि संक्रमितको संख्या बढिराखेको छ । मृतकको संख्या पनि बढिराखेको छ र तुलनात्मक रूपमा निको हुनेको संख्या पनि बढिराखेको छ । हामीले आफ्ना उपलब्ध स्रोत–साधनलाई हदैसम्म परिचालन गरेर यसलाई अघि बढाइराखेका छौं । सिरहा मुक्ति स्याहार ल्याब, सिरहा अस्पतालमा मात्रै छ । त्यहाँ चाप असाध्यै धेरै छ । पीसीआर जाँचको रिपोर्ट आउन ५–६ दिन लाग्छ भन्छन्, त्यहाँ बिरामीको चाप छ, जनशक्ति पनि सीमित छ । अभावका बावजुत पनि काम भइराखेको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापनको निर्णयअनुसार सिरहा अस्पतालमा पीसीआरका लागि पैसा लाग्दैन । निजीतिर मानिसहरू दौडिनुहुन्छ, त्यता नजानू भन्ने त होइन, त्यहाँ पनि सुविधा छ, जानु उपयुक्त नै हुन्छ । तर एकपल्ट बुझेर जिल्ला अस्पतालको सेवा लिन पनि म सरोकारवालाहरूलाई आग्रह गर्दछु ।

कुन अस्पतालमा के–के सुविधा छन् भन्ने जानकारी हामीले जिल्ला स्वास्थ्य कार्यालयको आधिकारिक वेबसाइटमा पनि राखेका छौं ।

जिल्ला प्रशासन कार्यालयको हेल्लो जिल्ला प्रशासन सिरहा र वेबसाइट www.daosiraha.moha.gov.np मा पनि उपलब्ध छ ।
अक्सिजन जथाभावी होल्ड नगर्न हामीले अनुरोध गरेका छौं । कतिपय जिल्लामा औद्योगिक प्रतिष्ठानबाट अक्सिजन सिलिन्डर जफत भयो भन्ने सुनिएको छ । हामीकहाँ जफत गरेका छैनौं उहाँहरूले स्वेच्छिक सहयोग गर्नुभएको छ । कसैले लुकाउनुभएको छैन । एउटा सिमेन्ट फ्याक्ट्रीले त अक्सिजन सिलिन्डर अर्को जिल्लामा पठाएर रिफिल गराएर पनि केही संख्यामा उपलब्ध गराएको छ । हामीले सुनसरी, खासगरी मोरङ, धनुषाका प्रजिअज्यूबाट पनि समन्वय गरेर अक्सिजनको व्यवस्थापन गरेका छौ । पर्याप्त छैन तर अक्सिजन नै नपाएकै कारणले सिरहा जिल्लामा कुनै पनि व्यक्तिले ज्यान गुमाउनु भने परेको अवस्था छैन ।

तपाईंसँग आएका सेवाग्राहीका समस्याहरू समाधानमा आफू कत्तिको सफल भएको जस्तो लाग्छ ?
अहिलेसम्म सफल भएकै छु जस्तो लाग्छ । कुनै सेवाग्राही कस्तो हुनुहुन्छ भने सिरहामा भेन्टिलेटर छ, अस्ति एकदिन एक सेवाग्राहीले लहानबाट फोन गर्नुभयो काठमाडौंमा भेन्टिलेटर नपाएर मैले सिरहामा ल्याउनका लागि हेलिलिफ्टका लागि व्यवस्था मिलाएँ । मेरो बिरामी हेलिकोप्टरमा चढिसक्नुभयो, केहीबेरमा ओर्लिनुहुन्छ हजुरले व्यवस्था मिलाइदिनुहोस् सीडीओ’साब भन्नुभयो । अत्यन्तै संवेदनशील विषय, हामीले १० मिनेटभित्र उहाँको मानिसलाई रेस्पोन्ड गर्न सेना, प्रहरी, खास गरेर हस्पिटलको हेल्थ टिमलाई पीपीई सेट लगाएर पुर्‍यायौं, एम्बुलेन्स पुग्यो तर उहाँले पछि फोन उठाउनुभएन, उहाँको रेकर्डेड नम्बरमा मैले बारबार फोन गरेपछि ल्याउने भन्या त हो तर अस्पतालबाटै क्लियरेन्स भएको छैन भन्नुभयो । सुरुमा उहाँले हेलिकोप्टर चढिसक्यो बिरामी भन्नुभयो । हामीलाई कुनै माध्ययमबाट आएको थिएन कि भेरिफाइ गर्ने मौका पनि पाइएन । एउटा उदाहरण मैले दिएँ ।

अर्को एउटा लहानकै बिरामी, यहाँ भेन्टिलेटर छ । सरकारी अस्पतालमा पैसा लाग्दैन भनेपछि उहाँले आफ्नो बुबालाई ल्याउनुभयो । यहाँ सिरहा अस्पतालमा ल्याइसकेपछि मेसु डाक्टर’साबको भनाइअनुसार मेरो बुबालाई भेन्टिलेटरमा राखिदिनुहोस् भनेर झगडा नै गर्नुभएछ । भेन्टिलेटर भनेको कुनै चकलेट, बिस्कुट हैन नि । त्यहाँ कस्तो खालको बिरामीलाई राख्ने वा नराख्ने भन्ने निर्णय डाक्टरले गर्ने हो भन्नेसम्मको ज्ञान नहुने हाम्रा सेवाग्राही पनि हुनुहुन्छ ।

अब मास्क नलगाउने भन्ने कुरा त धेरै टाढाको कुरा भो । भेन्टिलेटर भनेको मलाई कोभिड लाग्यो भेन्टिलेटरमा राखिदेऊ भन्नेलाई बुझाउन नसक्नु हाम्रो पनि दोष छ भन्छु म ।
भेन्टिलेटर भनेको यो हो । आईसीयू भनेको यो हो, कमन बेड भनेको यो हो । अस्पतालमा यस्तो मानिस आउने, यस्तो बिरामी नआउने भन्ने कुरा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा विश्व स्वाथ्य संगठनले एउटा प्रोटोकलमा राखेर देशव्यापी प्रचार गर्दा जिल्लाका हकमा पनि यो काम होस् भनेर मैले भनेको छु ।

कोभिडका बिरामी व्यवस्थापनमा कस्ता–कस्ता समस्याहरू भोग्नुपरेको छ ?
सिरहा अस्पतालको पीसीआर ल्याबमा काम गर्नुहुने स्वास्थ्यकर्मीहरू मसँग हुनुहुन्थ्यो । नेपाल बार एसोसिएसन जिल्ला शाखाको अध्यक्ष वीरेन्द्रकुमार सिंहले उहाँहरूको लजिस्टिक सपोर्टका लागि खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा पनि दिनुभयो । हामी सरकारी स्रोतमा मात्रै पनि निर्भर छैनौं । हामीसँग त्यस्तो बजेटको व्यवस्था पनि छैन । भएको बजेटलाई देखिने र ठोस काममा लगाएको छु ।

सिरहा अस्पतालमा अक्सिजन प्लान्ट छ तर रिफिल प्लान्ट छैन । अब यदि रिफिल प्लान्ट राखेपछि १५, २० वटा सिलिन्डर भर्नसक्ने क्यापासिटी छ भन्ने आधारमा बीसीसीएमसीको बैठकले निर्णय गरेर जिल्ला कोभिड कोषको रकम वा आउने रकमबाट जिल्ला प्रशासन कार्यालयले टेन्डर प्रक्रिया अगाडि बढायो । हामीले ६ सदस्यीय पारदर्शी समिति पनि राखेका छौं । त्यहाँ कसैले कमिसन खाँदैन, र्‍याल चुहाउँदैन र क्वालिटीको सामान जडान हुन्छ जसरी विगतमा आईसीयू निर्माण गरियो, भेन्टिलेटर राखियो, जिल्ला प्रशासनको पुरानो बिल्डिङ बनाइयो, केही महिनाअघि नेपाल सरकार गृह मन्त्रालयका सचिवज्यूले पनि यसको स्थलगत रूपमा अनुगमन गर्नुभएको छ । ती कामहरू गर्दा हामीलाई आत्मसन्तुष्टि नै छ, खुसी नै छौं । जनताको चाहनाअनुसार हामीले सबै कामहरू ठीक गरेका छौं भनेर म भन्न सक्दिनँ, त्यसरी काम गर्न पनि सकिएको छैन । त्यसरी काम गर्न नसक्नुको मुख्य कारण साधन–स्रोतको न्यूनता र त्यसको बाँडफाँडमा असमञ्जस्यता नै हो ।

अब साधन–स्रोत प्रदेश सरकारसँग छ वा संघीय सरकारसँग छ वा स्थानीय तहसँग छ ? उहाँहरूको पनि सीमाहरू होलान्, अब सीडीओसँग वा हाम्रो सेक्युरिटी एजेन्सीसँग बजेट छैन, नागरिकहरूको अपेक्षा हामीहरूसँग छ । त्यसलाई सन्तुलित ढंगबाट समन्वय गरेर समाधान गर्न हामी लागिपरेका छौं, लाग्छौं ।

सेवाग्राहीका रुपमा सरकारी कार्यालयमा आफूले भोग्नुपरेका अनुभव कस्ता छन् ?
त्यस्तो त थुप्रै छ, अरूको कार्यालयको त के कुरा गर्नु आफू नै एक घण्टा जति कार्यालयमा बसेन भने बानी बिग्रिन सक्छ । मानिसको वर्षौंदेखि लागेको बानीलाई एक रातमै सुधार गर्न गाह्रो छ ।
अब हामीले पाठ्यक्रम पनि परिवर्तन गर्नुपर्छ कि ? सगरमाथाको हाइट वा समुद्रको सतह नापेर जिल्ला प्रशासन वा मालपोतको काम चल्दैन । हुन त त्यो सेवाकालीन आधारभूत तालिममा दिन सकिन्छ भन्ने तर्क पनि आउला तर राम्रो काम लिनका लागि कुन फिल्डमा कस्तो कर्मचारी चाहिने हो, पछि तालिम दिँदा, कार्यस्थलमा कर्मचारीको संख्या घट्ने भएकाले अगाडि नै पाठयक्रमै त्यहीअनुसारको भइदिए इच्छुक मानिहरू आउँछन् । सेवा पनि राम्रो हुन्छ ।

एक त प्रायः सरकारी कार्यालय भिडयुक्त हुन्छ । हामीकहाँ म्यानुअल काम हुन्छ । निर्धारित कर्मचारीहरू हुँदैनन् । आफ्नो काम छिटो गराउन सेवाग्राहीले अर्को बाटो पनि रोज्न सक्छ । त्यो विस्तारै विकसित हुँदै जाँदा त्यसले संस्थागत स्वरूप लिन्छ ।
लगभग नेपालका धेरै कार्यालयहरूमा जाँदा मेरो अनुहारले नाम नचिन्ने भन्ने हुँदैन । त्यसरी मैले व्यक्तिगत रूपमा काम लिनुको कुनै उपादेयता हँुदैन । आममानिस सबैले काम लिनुपर्छ, जस्तो अहिले केही सर्वसाधारण सवारीसाधनको पास लिन आउनुहुन्छ । कसैले फोन गरिदियो, भन्दियो भने उसलाई दिने र नभन्नेलाई नदिने भन्ने हुँदैन । उहाँहरूको आवश्यकता के हो ? इमरजेन्सी के हो त्यो कुरा बुझ्ने, क्रस चेक गर्ने, र सहयोगीका रूपमा मैले काम गरिराखेको छु ।

अब अरूले मभन्दा पनि धेरै राम्रो काम गरिराख्नुभएको होला । अरूले काम गरेको छैन, मैले मात्र काम गरिराखेको छु भनेर भन्दिनँ ।

निजामती सेवा प्रवेशका लागि तपाईंलाई कुन कुराले प्रेरित गर्‍यो ?
म निजामती सेवामा अचानक आएको हुँ । म विनायोजना आएँ । सुरुमा प्रहरीमा जाने इच्छा थियो । इन्स्पेक्टरको अन्तर्वार्तामा असफल भएँ भनौं वा गरियो भनौं, उतिबेला नेपाल प्रहरीले नै पाठ्यक्रम बनाउँथ्यो, उसैले जाँच लिन्थ्यो, उसैले रिजल्ट निकाल्थ्यो । २०७० सालको प्रहरी नियमावली, ०७१ सालमा आउनुअघि के थियो भनेर मैले भनिरहनु परेन ।
म स्नातकोत्तर सकेर के गर्ने भन्दा लोकसेवाको जाँच दिउँ भनेर दिएँ । एकदिन बाटामा हिँडिराख्दा थाहा पाएँ कि २–३ दिनमै अन्तर्वार्ता रहेछ मेरो । अरूलाई त थाहा रहेछ, म जागिर नै नखाएको फ्रेस मान्छे, एकजनाले सम्झाइदिएपछि म अन्तर्वार्ता दिन गएँ, उत्तीर्ण पनि भएँ । र मेरो करियर यतातिर आयो ।

आफ्नो पेसाप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
सन्तुष्ट छु । सरकारले के दिएन भनेर म भन्दिनँ । म यही पेसामा लागेका कारण उत्कृष्ट निजामती सेवा पुरस्कार नेपाल सरकारबाट पाएको छु । मैले २०५२ सालमा अफिसर हुँदा आठवटा बाढीपिडितहरूको बेसलाई को–अर्डिनेट गरेको छु । सरकारले त्यसबेला मलाई गोरखा दक्षिणबाहु चौथो दिएको थियो । गत वर्ष जनकपुरको प्रजिअ हुँदा सुप्रबल जनसेवाश्री पाएँ । त्यतिखेर कोभिडका कारण लिन पाइएन । यसपटक गत वैशाखमा सम्माननीय राष्ट्रपतिबाट लिएँ । सबैभन्दा ठूलो कुरा त म के ठान्छु भने सोलुखुम्बुमा खुम्बु सम्मान भनेर आदिवासी जनजातिहरूले म सरुवा भएर हिँडिसकेको ५ वर्षपछि दिनुभयो । इन्टिग्रिटी आइडल २०१५ एकाउन्टाबिलिटीको अवार्ड पाएँ । जनस्तरकै अवार्ड हो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नागरिकले दिएको सम्मान थियो त्यो । म यो पेसामा नलागेको भए ती सम्मानहरू मैले पाउने थिएनँ ।

सिरहा जिल्लाको शान्ति सुरक्षाको अवस्था अहिले कस्तो छ ?
सन्तुलित छ । अब अपराधमुक्त ठाउँ कहीँ पनि हुँदैन । कानुनको कार्यान्वयन गर्ने, रियाक्टिभभन्दा पनि प्रोएक्टिभली कामहरू हामी गर्छौं, इभेन्ट बेस सुरक्षा योजना बनाउँछौं । त्यति गर्दागर्दै पनि कहीँ न कहीँ केही अप्ठ्यारो त भइहाल्छ । त्यसलाई हामी आपतकालीन व्यवस्थापन गरेर समाधान गर्छौं । यसको अर्थ सिरहा जिल्लामा कुनै घटनै भएका छैनन्, कुनै अपराध नै भएका छैनन् भन्ने होइन, भएका छन्, अपराधमुक्त समाज कहीँ छैन । ढिलोचाँडो अपराधीहरू पत्ता पनि लाग्लान्, तर त्यसो भनेर रियाक्टिभ काम नै गर्नुपर्छ भन्ने हैन, प्रोएक्टिभ काम गर्दै गयौं भने त्यस किसिमका घटनाहरू पनि न्यूनीकरण हुँदै जान्छन् ।

नेपालखोजमार्फत केही भन्न चाहनुहुन्छ ?
अहिले कोभिड–१९ को दोस्रो लहरले गर्दा प्रतिशतमा हेर्दा संसारमा नेपाल पहिलो, दोस्रो स्थानमा आक्रान्त भएको छ । यो अत्यन्तै खतरनाक अवस्था हो । अब सरकारले सुरुमा खोपको व्यवस्था गर्दा लगाउन नमान्ने, भाग्ने अवस्था पनि थियो । अहिले खोप खोज्ने अवस्था छ । स्वास्थ्यकर्मीहरू पनि दिलोज्यानले त्यसतर्फ जुट्नुभएको छ । यस्तो डरलाग्दो अवस्थालाई समाधान गर्न सामाजिक दूरी कायम गर्न, माक्स लगाउन, साबुनपानीले मिचिमिची हात धुन वा स्यानिटाइजरको प्रयोग गर्न, भिड नगर्न, हाट बजार नलगाउन म अनुरोध गर्छु । यसो भयो भने कुनै पनि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा लगाउनै पर्दैन । मानिसले अटेर गर्ने भएकाले जनहितका लागि यस्ता आदेशहरू जारी गर्नुपर्ने हुन्छ जुन जनताकै लागि फाइदाजनक हुँदैन । महान् दाजुभाइ दिदीबहिनीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु सरकारले वा सरकारी एजेन्सीहरूले निषेधाज्ञा लगाउनुभन्दा आफैं आत्मअनुशासित भएर आफ्नो जिउधनको रक्षा गर्नेतर्फ एउटा नागरिक कर्तव्यको निर्वाह गर्न मैले अपिल गर्दछु ।

(नेपालखोजको ‘प्रजिअसँग शम्भु’ मा हामी विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सँग समसामयिक विषयमा कुरा गर्छौं । उनीहरूका मनका कुरा पाठकसामु पस्कन्छौं । यसअघि हामीले वाग्मती प्रदेशको नुवाकोट जिल्लाका प्रजिअ जीवनप्रसाद दुलालसँग कुराकानी गरेका थियौं । यसपटक हामीले प्रदेश २ को सिरहा जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपकराज कँणेलसँग कुराकानी गरेका हौं । www.nepalkhoj.com हेर्दै गर्नुहोला । यहाँहरूको सल्लाह र सुझावको हामी सधैं अपेक्षाकृत छौं । हामीले यो स्तम्भ हरेक सोमबार प्रस्तुत गर्दै आएका छौं ।)

थप प्रजिअसँग शम्भु पढ्न र सुन्न छुटाउनु भए हेर्नुहोस् :

सिद्धराज जोशी, प्रजिअ, दार्चुला – ‘जति काम गरें इमानदारपूर्वक गरें’

माधवप्रसाद ढकाल, प्रजिअ, डोल्पा – ‘सेवाग्राहीको मुस्कानले काममा थप ऊर्जा मिल्छ’

रुद्रादेवी शर्मा, प्रजिअ, गुल्मी – ‘निजामती कर्मचारी सबैको स्वभाव त एउटै हुँदैन नि १’

दीपकराज नेपाल, प्रजिअ, स्याङ्जा – ‘कहिलेकाहीँ कर्मचारीले जजमेन्टल डिसिजन गर्नुपर्ने हुन्छ’

जीवनप्रसाद दुलाल, प्रजिअ, नुवाकाेट – ‘आफूले गरेका कार्यसम्पादनबाट सन्तुष्ट छु’

प्रतिक्रिया