आज नेपाल र नेदरल्यान्स्बीच खेल हुने, काेराेना जोखिमका कारण दर्शक जान नपाउने

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा अहिले त्रिदेशीय टी–२० सिरिज चलिरहेको छ । कीर्तिपुरस्थित त्रिकेट क्रिकेट मैदानमा प्रतियोगिता चलिरहेको छ ।
यस अन्तर्गत आज नेपाल र नेदरल्याण्डबीच खेल हुँदैछ । खेल दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।
यस सिरिजको यो चौथो खेल हो भने नेपालका लागि तेस्रो खेल हो । सिरिजको पहिलो खेलमा शनिबार नेपालले नेदरल्याण्डविरुद्ध खेलेको थियो । आइतबार नेदरल्याण्ड र मलेसियाबीच खेल भएकोमा सोमबार नेपाल र मलेसियाले खेलेका थिए ।
नेपालले आफ्ना दुवै खेलमा ९ विकेटको जित हात पारेको छ । नेदरल्याण्डले मलेसियालाई हराउँदा मलेसिया २ खेलबाट जितबिहीन छ ।
आजको खेल हेर्नका लागि दर्शक जान नपाउने भएका छन् । कोरोना संक्रमणको जोखिम भएको भन्दै सरकारले सोमबार दर्शकबिना मात्रै खेलकुद गतिविधि गर्न निर्देशन दिएको थियो ।
सोमबार दिउँसो नै विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ(क्यान)ले मंगलबार देखिका खेलमा दर्शकलाई प्रवेश नदिन भनिसकेको छ ।
नेपाल सहभागी यसअघिका २ खेलमा दर्शकको बाक्लो उपस्थिति थियो ।
प्रतिक्रिया