सर्वोच्चको आदेश- अब अख्तियारले ‘स्टिङ अपरेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीश रहेको संवैधानिक इजलासले स्टिङ अपरेसनबारे परेको रिटमा निवेदकले माग गरेबमोजिम आदेश गरेको हो । यसअघि अख्तियारले सरकारी कार्यालयमा घुस रकमसहित पक्राउ गर्न स्टिङ अपरेशन गर्दै आएको थियो ।
नयाँ आदेशसँगै अख्तियारले अब स्टिङ अपरेसन गर्न नपाउने भएको छ । स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । अख्तियारले यस्तो ‘स्टिङ अपरेसन’ आफ्नो नियमावलीका आधारमा गरिरहेको थियो ।
उक्त नियमावलीको नियम ३० मा घुस/रिसवतवापत रकम उपलब्ध गराउन सक्ने प्रावधान छ । उपनियम १ मा भनिएको छ– कुनै सार्वजनिक पद धारण गरेको व्यक्तिले घुस रिसवत माग गरेको भनी आयोगमा पर्न आएको उजुरी निवेदनको अनुसन्धानको सिलसिलामा आयोगले आफ्ना कर्मचारी वा उजुरवाला वा अन्य कुनै व्यक्तिमार्फत् त्यस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिलाई घुस रिसवतवापत रकम उपलब्ध गराउन सक्नेछ।
उपनियम २ मा त्यस्तो घुस÷रिसवत उपलब्ध गराउने कर्मचारी वा व्यक्तिलाई कुनै किसिमको कारबाही र सजाय गरिने छैन भनिएको छ ।

प्रतिक्रिया