हुम्लामा वैशाखमै हिमपात, किसान खुसी !

हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् ।
पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए ।
बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेबदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् ।
नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले जानकारी दिए । विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको छ ।
लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान भने खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

प्रतिक्रिया