‘कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन’

नेपालखोज २०७८ वैशाख ९ गते १४:३५

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोना संक्रमण नियन्त्रणमा सरकार उदासीन भएको बताएका छन् ।

काठमाडौंमा बिहीबार भएको एक कार्यक्रममा उनले कोरोना संक्रमणले देशमा भयावह स्थिति आउन नदिन सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका हुन् । सरकार कोरोना नियन्त्रणमा लाग्नुपर्ने बेलामा अनावश्यक रुपमा शिलान्यास कार्यक्रम गरी जनतामा भ्रम सिर्जना गरेको उनको आरोप थियो ।

उनले कोरोनाका कारणले कोही नेपालीले दु:ख भोग्नुपर्ने अवस्था आउन नदिन सरकारलाई आग्रहसमेत गरेका छन् । सरकार नेपाली जनताको स्वास्थ्यको सुरक्षा गर्नभन्दा पनि आफ्नो सत्ता जोगाउन लागिपरेको नेता सिंहको भनाइ छ ।

देशमा भएका अस्पतालहरुको क्षमता बढाउदै लग्नुपर्ने उनले बताए । ‘दोस्रो चरणको कोरोना भाइरस नेपालमा भित्रिइसकेको छ । रोकथामका लागि तत्काल सरकारले प्रभावकारी कदम चालोस्,’ उनले भने । राजधानीका ठूला अस्पतालहरुमा भएका अक्सिजन प्लान्टसमेत सञ्चालन हुन नसकेको समाचार सुन्दा अचम्म लागेको उनले बताए । उनले तत्कालै जनस्वास्थ्यका विषयमा ठोस कदम चाल्नसमेत सरकारलाई आग्रह गरे ।

अब पनि कोरना नियन्त्रण र रोकथामका विषयमा प्रभावकारी कदम चाल्न नसके भयावह स्थिति आउन सक्ने भन्दै गम्भीरतालाई बुझेर अघि बढ्न सम्बन्धित सबैमा अपिल गरे । कार्यक्रममा नेता सिंहमार्फत इसान प्रसाईं स्मृति समाजले अटिजम भएका बालबालिकालाई नगद एक लाख एघार हजार रुपैयाँ सहयोगसमेत गरेको थियो ।

प्रतिक्रिया