कोरोनाका कारण थप ३ जनाको मृत्यु

नेपालखोज २०७८ वैशाख ९ गते १६:०६

काठमाडौं । कारोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अछामका ६५ वर्षका पुरुष, पोखराका ७२ वर्षीय पुरुष र पर्साकी ६१ वर्षीया महिला रहेका छन् ।अछामको साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका पुरुषको आज बिहान ७ बजे जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।

बैशाख ५ गते बयालपाटा अस्पतालमा एन्टीजेन परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । रोजगारीको शिलशिलामा भारतको गुजरातमा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए ।

त्यस्तै, कास्कीको पोखरा महानगरपालिका–८ का ७२ वर्षीय पुरुषको पनि उपचारकै क्रममा चितवनमा मृत्यु भएको हो । वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको आज बिहान साढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई यही वैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका–१६ नगवा निवासी ६१ वर्षीया महिलाकोे उपचारका क्रममा गएराति मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमोनिया तथा उच्च ज्वरो भएकी महिलालाई यही वैशाख ५ गते अस्पताल भर्ना गराइएकामा उपचारकै क्रममा गएराति मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए ।

यही वैशाख ३ गते सङ्क्रमण पुष्टि भएकी महिलालाई होम क्यारेन्टिनमा राखिएको भए पनि स्वास्थ्य अवस्था बिगिँदै गएपछि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार थालिएको थियो ।

प्रतिक्रिया