छुट्टा-छुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु

काठमाडौं । झापा, बारा, नवलपरासी र भक्तपुरमा भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । झापाको भद्रपुर नगरपालिका ९ मा बिहिबार बिहान ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको हो ।
भद्रपुरबाट चारआलीतर्फ जाँदै गरेको मे १ क २६७ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४५८ नम्बरको सिटी सफारीलाई आज बिहान ९ बजे ठक्कर दिदाँ स्थानीय ७५ वर्षीया गायत्रीदेवी प्याकुरेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
त्यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिका २२ चुरियामाईको ओरालोमा आज मोटरसाइकल पल्टिदा एक जनाको मृत्यु भएको छ भने दुई जना भने घाइते भएका छन् । मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीय पुरुष रहेका छन् । हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
त्यस्तै, पश्चिम नवलपरासीमा टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । बर्दघाट नगरपालिका वडा नम्बर १२ स्थित चिसापानी महेषपुर सडकखण्ड अन्तरगत मझौनीतर्फबाट भटौलिया बजारतर्फ आईरहेको ना ४ ख २२९६ नम्बरको टिप्परले सोही दिशाबाट आईरहेको युपि ५६ एसि ९८०२ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । ठक्करबाट सरावल गाउँपालिका वडा नम्ब ५ का अन्दाजी वर्ष २१ का धनैराज राजभरको मृत्यु भएको हो ।
त्यस्तै, भक्तपुरको गठ्ठाघरमा मोटरसाइकल र टिप्पर ठोक्किदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल पछाडी बसेका कैलालीका ४३ वर्षीय पदमराज पाठकको मृत्यु भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

प्रतिक्रिया