मंगलबार, वैशाख १६, २०८२

भारतमा कोरोना संक्रमण भयाभह : एकैदिन ३ लाख ४५ हजारमा संक्रमण पुष्टि

नेपालखोज २०७८ वैशाख ११ गते ७:५९

मुम्बई । भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार तेस्रो दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि (शुक्रबार) वैशाख १० मा भारतमा दोस्रो धेरै ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ६६ लाख २ हजार ४५६ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३८ लाख ६२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २५ लाख ५० हजार ७८८ छ ।

त्यस्तै, भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८९ हजार ५४९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार ६२१ जनाको मृत्यु भएको छ । त्यस्तै, कोरोनाभाइरसको सङ्क्रमण अस्वाभाविक रूपमा बढेपछि भारतको निर्वाचन आयोगले चुनावी र्‍याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका बेला निर्वाचन आयोगले यस्तो कदम चालेको हो । निर्वाचन आयोगले चुनावी अभियानका क्रममा कैयौँ पार्टी र उम्मेद्वारहरूले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरेको पनि जनाएको छ।

महामारीबाट अत्यन्तै प्रभावित मध्येको राजधानी दिल्लीका छवटा अस्पतालमा अक्सिजन चरम अभाव भएको चिकित्सकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रतिक्रिया