बाँकेमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

बाँके । कोरोना सङ्क्रमणका कारण बाँकेमा थप सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै बाँके जिल्लाका विभिन्न अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको हो । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भयो ।
कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
त्यसैगरी जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।
यस्तै राजापुर नगरपालिका–९ बर्दिया निवासी ४२ वर्षीय पुरुष र बैजनाथ गाउँपालिका–२ निवासी ६५ वर्षीय पुरुषको पनि हिजै दिउँसो मृत्यु भएको बताइएको छ ।
यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–८ त्रिभुवनचोक निवासी ३५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छ ।
योसँगै कोरोना सङ्क्रमणका कारण बाँकेमा हालसम्म ज्यान गुमाउनेको सङ्ख्या ७६ पुगेको छ ।

प्रतिक्रिया