बन्दाबन्दीको मौका छोपेर मनोमानी मूल्यवृद्धि

नेपालखोज २०७८ वैशाख ११ गते १४:३७


नेपालगञ्ज । नेपालगञ्जमा बन्दाबन्दीको मौका छोपेर व्यापारीले मनोमानीरुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९ गतेदेखि १५ गतेसम्मका लागि बन्दाबन्दी जारी गरेको छ ।

बन्दाबन्दीमा सहज र सरलरुपले उपलब्ध गराउनुपर्नेमा व्यापारीले कालोबजारी गरी मूल्यवृद्धि गरेका छन् । नेपालगञ्जका तरकारी बजारहरुमा बन्दाबन्दीको हल्लासँगै प्रत्येक तरकारीमा किलोमा २० देखि ३० रुपैयाँ वृद्धि गरेको पाइएको छ ।

बन्दाबन्दीअघि प्रतिपाँच केजी रु १२० मा बिक्री भएको आलु अहिले रु २०० तिरेर किन्न बाध्य भएको नेपालगञ्ज १० निवासी उपभोक्ता मङ्गलीमाया श्रेष्ठले बताइन् । उनका अनुसार, आलु मात्र नभई, सिमला खुर्सानी, गोलभेँडा, भिण्डी, करेला, बोडी, बन्दालगायतका तरकारीमा पनि बन्दाबन्दीभन्दा चर्को मूल्य तिर्न बाध्य भएका छन् ।

तरकार मात्र नभई खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य सामग्रीमा पनि नेपालगञ्जमा कालोबजारी ह्वात्तै बढेको छ । ग्यास, नून लगायतका अत्यावश्वकीय वस्तुको कालोबजारी गरी महङ्गो दरमा बिक्री भईरहेको छ । विहान ६ बजेदेखि ९ बजे सम्म दैनिक उपभोग्य सामाग्री खरिदका लागि तोकिएको समयमा पनि उस्तै मनपरी भएको पाइएको छ ।

सामान्य अवस्थामा भन्दा बन्दाबन्दीको समयमा कालोबजारी हुँदा निम्न वर्गिय, मजदुर र गरिखाने सर्वसाधारण झनै समस्यामा परेको जनाइएको छ ।

एकै दिनमा मूल्य वृद्धि गर्न नपाइने र स्टक सामाग्रीलाई पनि मुल्य बढाएर बिक्री गर्न नपाइने कानुनी व्यवस्था रहेको भएपनि बन्दाबन्दीमा आँखा छलेर मुल्य मेटेर सामाग्री बेच्ने गरेको पाईएको उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले बताए ।

उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहेकी नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले बन्दाबन्दीमा कालोबजारी र मूल्य वृद्धि गरेको गुनासो आएपछि बजार अनुगमन थालिएको बताइन् ।

उनका अनुसार, शुक्रवार गरिएको अनुगमनको क्रममा अनुचित ब्यापारिक क्रियाकलाप गर्ने दुईवटा तरकारी पसललाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ १ (क) बमोजिम चेतावनी स्वरुप तस्काल जनही २० हजार रुपैयाँ जरिवाना समेत गरिएको छ ।

बन्दाबन्दीको बेला मनपरी मुल्य निर्धारण गर्ने र उपभोक्ता ठगी गर्नेलाई ठाउँको ठाउँ कारबाही गर्ने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए। उनले बन्दाबन्दी मात्रै नभई जुनसुकै समयमा पनि मनपरी मुल्य वृद्धि गर्न नपाईने उल्लेख गरे।

उनका अनुसार, नेपालगञ्जमा कोरोना सङ्क्रमण तीब्रगतिमा फैलिएकाले त्यसको रोकथामका लागि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ ।

प्रतिक्रिया