उपत्यकाका अस्पतालका शय्या काेराेना संक्रमितले खचाखच

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि शय्या भरिन थालेका हाे ।
यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकाेमा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना पुगेका थियो । चिकित्सकका अनुसार अहिले नेपालमा १२.३ प्रतिशत सङ्क्रमण दर रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग, वीर, पाटन ,त्रिवि शिक्षण र सशस्त्र प्रहरी बल अस्पतालमा कोराना सङ्क्रमितले अस्पतालका श्यया भरिदै गएको छ ।
शुक्रराज अस्पतालका २२ सघन उपचार कक्षमध्ये २० र १२ भेन्टिलेटर सङ्क्रमितले भरिएको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले जानकारी दिनुभयो । उनका अनुसार ५५ आइसोलेसन शय्या पनि भरिएका छन् ।
दैनिक आठ–नौ जना उपचारपछि घर गएपनि त्यतिकै सङ्ख्यामा बिरामी आउने उनको भनाइ छ । उनले सङ्क्रमित बढ्न थालेपछि विनाकारण घरबाट ननिस्कन र निस्कनै परे मास्क, सेनिटाइजर र भौतिक दूरी कायम गर्न पनि आग्रह गरे ।
अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डलब भेरियन्ट रहेकोले सङ्क्रमण सार्नसक्ने अत्यधिक क्षमता रहेको छ ।
अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा सङ्क्रमण सार्न सक्छ भएकाले सङ्क्रमण नियन्त्रण बाहिर जान थालेको र यसमा सर्वसाधारण आफैं सचेत हुनुपर्ने उनकाे भनाइ छ।
यस्तै वीर अस्पतालमा पनि कोभिड–१९ का बिरामीलाई छुट्याइएको शय्या भरिन थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले उपत्यकामा अहिले ७७ जना सघन उपचार कक्षमा र ४० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
मुलुकभरि एक हजार १८० सघन उपचार कक्ष र ५१२ भेन्टिलेटर रहेका छन् । तीमध्ये १७३ जना सघन उपचार कक्ष र ५७ जना भेन्टिलेटरमा सङ्क्रमितको उपचार भइरहेको छ ।
वीर अस्पतालका कोभिड–१९ सम्पर्क व्यक्ति डा अच्युत कार्कीले १७ मध्ये १५ सघन उपचार कक्ष शय्या, पाँच भेन्टिलेटर पूरै भरिएको बताए।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा कोरानाका बिरामीले भरिएका छन् । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा प्रविन नेपालले १०० शय्यामध्ये सबै भरिएको जानकारी दिनुभयो । उनका अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पतालले आज थप ४०शय्या थप गर्न थालेको हो ।
यस्तै २० मध्ये १८ सघन उपचार कक्ष र आठमध्ये सात भेन्टिलेटर पनि सङ्क्रमित रहेको उनले जानकारी दिए ।
उनले अस्पतालमा भर्ना भएका बिरामी श्वास फेर्न गाह्रो, ज्वरो, छाती दुख्ने, निमोनिया जस्ता समस्या रहेकाले ६० प्रतिशतलाई अक्सिजनलाई दिनु परेको जानकारी दिए। अस्पतालमा आएका बिरामीमध्ये अधिकांश ४०–५० उमेर समूहका बिरामी रहेका छन् ।
यस्तै वीरमा ७६ आइसोलेसनमध्ये ६६ वटा सङ्क्रमित रहेका छन् । उनले दैनिक आठ–नौ वटा नयाँ बिरामी आउने गरेको भन्दै दैनिक सङ्क्रमित थपिँदै गए आफूले बिरामीलाई राख्न नसक्ने बताए ।
उनले सानो ठाउँ भएकाले उपचार गराउन आउने बिरामी र खोप लगाउन आउने व्यक्तिमा सामाजिक दूरी कायम राख्न नसकेको जानकारी दिए ।
सङ्क्रमित बढ्न थालेपछि वीरले नजिकैको सर्जिकल भवनमा अबको केही दिनमा कोभिड–१९ का बिरामी राख्ने तयारी गरेको उनको भनाइ छ ।
त्रिवि अस्पतालका निर्देशक डा.दिनेश काफ्लेले ५५ जना सङ्क्रमित उपचार भइरहेको जानकारी दिए। उनका अनुसार १२ जना आइसियु, ५ जना भन्टिलेटरमा र ३८ जना हाइ डिपेन्टिेन्ड युनिट (एचडियु) मा उपचार भइरहेको छ ।
अस्पतालमा ६० आइसियू र ५० एचडियू रहेका छन् । उनले बिरामीलाई शुरुमा अब्जर्वेशन गरी राख्ने र समस्या देखिए आवश्यकता अनुसार आइसियू, एचडियू र भेन्टिलेटरमा राखिने बताए ।
अस्पतालले आइसियुमा एक जना नर्सले एक जना बिरामी र एचडियुमा एक जना नर्सले दुई जनासम्म बिरामी हेर्ने व्यवस्था मिलाएको छ । उनले सङ्क्रमित संख्या बढ्ने भएको ५० आइसोलेन शय्या थपिन थालेको जानकारी दिए ।
शुक्रराज अस्पतालका प्रमुख कन्सल्टेन्ट डा. अनुप बाँस्तोलाले सङ्क्रमण पहिलोभन्दा सङ्क्रामक रहेकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेका छन् ।
उनले सङ्क्रमण यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउनसक्ने भन्दै मानिसलाई घर बाहिर ननिस्कन अनुरोध गर्नुभएको छ ।
उनका अनुसार कोभिड–१९ को अहिलेको लहरमा सङ्क्रमित सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढिरहेको छ ।
प्रतिक्रिया