भूकम्पले राष्ट्रिय आत्मविश्वासको धरहरालाई ढाल्न सक्दैन : राष्ट्रपति

नेपालखोज २०७८ वैशाख १२ गते १२:१६

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै उनीहरुप्रति श्रद्धासुमन अर्पण गरेकी छन् ।

गोरखा भूकम्पको छैटौँ स्मृति दिवसका अवसरमा भूकम्पले हजारौँको ज्यान जानेगरी निजी आवास तथा सार्वजनिक संरचनासहित ऐतिहासिक धरहरालाई भत्काए तापनि राष्ट्रिय आत्मविश्वासको धरहरालाई भने ढाल्न नसकेको जनाउँदै राष्ट्रपतिले नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भौतिक संरचनाको पुनर्निर्माण गर्ने र प्रभावितको पुनःस्थापनालाई लगभग अन्तिम चरणमा पु¥याएको बताइन् ।

हालसम्म लाखौँ निजी आवास तथा हजारौँ विद्यालयको पुनर्निर्माण भइसकेको छ र केही निर्माणाधीन रहेको जनाउँदै राष्ट्रपतिले भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी, दरबार हाइस्कूल, दशरथ रङ्गशाला, धरहरालगायत ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्त्विक महत्त्वका संरचनाको पुनर्निर्माण सम्पन्न हुनु सुखद् विषय भएको र धेरै सरकारी भवन, मठमन्दिर, गुम्बा आदिको पुनर्निर्माण तीव्र गतिमा भइरहेको बताइन् ।

पुनर्निर्मित भौतिक संरचनामा मौलिकता झल्किनाका साथै भूकम्प प्रतिरोधी प्रविधिको प्रयोग गरिएको जनाउँदै राष्ट्रपति भण्डारीले अब बन्ने संरचनामा पनि हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्नेमा सचेत रहन सम्बद्ध पक्षको विशेष ध्यानाकर्षणका साथ पुनर्निर्माणमा अहोरात्र खटिने राष्ट्रसेवक‚ कालिगढ‚ श्रमिक एवं दातृ निकायप्रति धन्यवाद व्यक्त गरेकी छन् ।

सम्भावित प्राकृतिक विपद्को जोखिम न्यूनीकरण गर्न आवश्यक पूर्वतयारीका साथै सामुदायिक सचेतना अभिवृद्धि गर्दै चुस्त व्यवस्थापनसहित प्रभावकारी प्रतिकार्यका लागि सदा तयारी अवस्थामा रहन सम्बद्ध सबैको ध्यानाकर्षण गराउँदै राष्ट्रपति भण्डारीले २०७२ सालको भूकम्पपछिको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणका सिकाइले भविष्यमा विपतद्बारा हुन सक्ने क्षति न्यूनीकरण गर्न थप सहयोग पु¥याउने छ भन्ने विश्वासका साथ भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने सबैलाई प्रेरणा मिलोस् भनी कामना गरेकी छन् ।

प्रतिक्रिया