काठमाडौं प्रशासनले भोलिदेखि वैशाख २० सम्म नागरिकता, राहदानीकाे सिफारिस नगर्ने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरेको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अत्यावश्यक बाहेकका सेवाहरु बैशाख १३ गतेदेखि २० गते सम्मका लागि स्थगित गरिएको बताए ।
कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परिक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको उनले बताए । यसबाहेक भिडभाड हुने अन्य कार्यालयहरुमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गरे ।
स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् । तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सूचारु रहने बताएका छन् ।
आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भिडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचार प्रसार गर्ने र भिडभाड कम गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए।
मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उनले बताए । अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुले अनावश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ

प्रतिक्रिया