नयाँ सरकार गठनका लागि कांग्रेस अझै पनि पर्खिने

नेपालखोज २०७८ वैशाख १३ गते ७:३५

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्‍ने संस्थागत निर्णय गरेको कांग्रेस अझै पनि पर्ख र हेरको रणनीतिमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार बोलाएको पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणका लागि अझै परिस्थिति अनुकुल र परिपक्क भइनसकेको निश्कर्ष निकालेको छ।

बैठकपछि उपसभापति विमलेन्द्र निधिले नयाँ सरकार निर्माणको प्रयासलाई जारी राखे पनि संसद्को अंकगणित अझै पर्याप्त नभइसकेको बताए। आइतबारको बैठकमा नेताहरूले वैकल्पिक निर्माणका लागि प्रयास जारी राख्‍ने तर अंकगणित सुनिश्चित नहुँदासम्म हतारमा मुभ गर्न नहुनेमा जोड दिएका थिए।

देउवा निवास बूढानीलकण्ठ बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारी, कोरोना संक्रमण र रोकथाम, राजनीतिक घटनाक्रमका सम्बन्धमा छलफल भएको थियो। सोमबार केन्द्रीय सदस्यहरूको कोरोना परीक्षण गरेर मंगलबार मात्रै केन्द्रीय कार्यसमितिको बैठक बस्‍ने भएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । महाधिवेशनका लागि पार्टीको गाउँ-नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ-नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ।

प्रतिक्रिया