गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट सुरु हुँदै, मुख्यमन्त्रीविरुद्ध अविश्वास टेबुल हुने

नेपालखोज २०७८ वैशाख १३ गते ९:३७

काठमाडौं । गण्डकी प्रदेशसभाको विशेष अधिवेशन आजबाट शुरू हुँदैछ । दिउँसो २ बजे शुरू हुने विशेष अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव टेबुल गर्ने कार्यसूची छ ।

आज पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने भएको छ । पहिलो दिन दलीय आधारमा नेताले बोल्ने कार्यसूची परिवर्तन गरी अविश्वास प्रस्ताव पेश गर्न हिजो बसेको कार्यव्यवस्था परामर्श समितिमा सहमति भएको हो ।

सुरुमा नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीले प्रस्ताव टेबुल गर्नेछन् । त्यसपछि अन्य सांसदले बोल्नेछन् ।

प्रदेशसभा सचिवालयका अनुसार छलफल सकिए पछि बढीमा ३ दिनमा अविश्वासको प्रस्ताव टुंगो लाग्ने छ । अविश्वासको प्रस्तावमा २८ जनाको हस्ताक्षर छ । राष्ट्रिय जनमोर्चाले प्रस्तावमा हस्ताक्षर गरेको छैन, तर मतदानमा सघाउने प्रतिवद्धता जनाएको छ ।

अविश्वासको प्रस्तावमाथि पर्सी (बुधबार) मतदान हुनेछ । २७ सदस्य रहेको एमालेको साथ जनमोर्चाले छोडेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ अल्पमतमा परेका छन् । मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव सफल पार्ने कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले साझा प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया