‘विमान चले गाडी पनि चलाउँछौं’

नेपालखोज २०७८ वैशाख १३ गते १७:४८


काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले यातायात सेवा बन्द गरेर विमान मात्र चल्न दिए आफूहरूलाई मान्य नहुने बताएका छन् ।

सरकारले कोरोना संक्रमण बढेसँगै अवस्था हेरी लकडाउन र निषेधाज्ञाको तयारी गरेको छ । यसै क्रममा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा यही वैशाख १६ गतेदेखि निषेधाज्ञा गर्ने तयारी भएको छ ।

जसमा आन्तरिक हवाई सेवाका विमानलाई भने यथावत् ​रुपमा सञ्चालन गर्न दिने उल्लेख छ । निषेधाज्ञा र लकडाउनको समयमा यातायातका साधनहरू मात्र बन्द गरेर विमानहरू नियमित सञ्चालन भइरहे आफूहरूलाई मान्य नहुने सिटौलाले नेपालखोजलाई बताए ।

जिल्ला प्रशासन कार्यालयहरुले गरेको सार्वजनिक यातायात बन्द गर्ने निर्णयमा द्वैध नीति देखिएको भन्दै महासचिव सिटौलाले गाडी सञ्चालनमा रोक लगाएर विमान मात्रै चलाउँदा महामारी रोकिने हो र ? भन्दै प्रतिप्रश्नसमेत गरे । ‘हामीले सवारीसाधन बन्द गरेर महामारीको चेन ब्रेक हुन्छ भने हामी योगदान गर्न तयार छौं,’ उनले नेपालखोजलाई भने, ‘तर, हामीले सवारीसाधन बन्द गरेर बस्दा विमान चलिरहे त्यसले महामारी रोकिन्छ ?’

ठूला व्यवसायीको लगानी रहेको विमानमा यात्रु बोक्न दिने, बसमा यात्रु बोक्न किन नदिने ? भन्दै उनले गाडीमा पनि सिट क्षमताअनुसरकै यात्रु बोक्न पाउनुपर्ने बताए ।

महासचिव सिटौलाले सरकारले दोहोरो खालको निर्णय लिए आफूहरुले सरकारी निर्णयको अवज्ञा गर्ने पनि बताए ।

प्रतिक्रिया