‘संक्रमणकाे परिस्थितिलाई जटिल हुन नदिन सरकार जागरूक हुनपर्छ ’

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमणकाे परिस्थितिलाई जटिल हुन नदिन सरकार जागरूक हुनपर्ने बताएका छन् । उनले संक्रमणकाे गति बढेको भन्दै संक्रमण रोक्न सबै उपाय अपनाउन सरकारसँग माग गरेका छन् ।
संक्रमणको दर तीव्र गतिमा बढेको भन्दै देउवाले आइसियु र भेन्टिलेटरको संख्या थप्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।
देश दोश्रो चरणको कोभिड–१९ को संक्रमणको चपेटामा छ । संक्रमण दर तीव्र गतीमा वढेको छ भने संक्रमणवाट गम्भीर विरामी भएर आ.ई.सि.यू. र भेन्टीलेटरको आवश्यकता पर्नेको संख्या पनि वढदो छ । अहिले युवाहरुमा पनि संक्रमण उल्लेख्य रुपमा वढेको छ । संक्रमीतहरुको उपचार पूरागर्न देशको स्वास्थ्य संरचनाले धान्नै नसक्ने स्थिति बनेको छ ।
विज्ञप्ति जारी गर्दै देउवाले भनेका छन्, यस अवस्थामा परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हर सम्भव उपायहरु गर्न म सरकारसँग माग गर्दछु । साथै संक्रमीतहको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना स्वास्थ्य सामाग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोवल उच्च राख्न आवश्यक व्यवस्था मिलाउने तर्फ सरकार गम्भीर हुन माग गर्दछु ।
उनले विकसित मित्रराष्ट्रहरुले खोप उत्पादक संस्थाहरुसँग आ–आफ्नो देशहरुको आवश्यकता भन्दा पनि वढी संख्यामा अग्रिम बुकिङ्ग सुरक्षित गरिसकेको पनि उल्लेख गरेका छन् । देउवाले अग्रिम बुकिङ्ग गर्न नसकेका नेपालजस्ता देशहरुलाई बुकिङ्ग भएको संख्यामध्येबाट खोप सुविधा उपलव्ध गराउन पनि सम्वन्धित मीत्रराष्ट्रहरुसँग अनुरोध गरेका छन् ।

प्रतिक्रिया