जानकी मेडिकल कलेजलाई कोभिड विशेष अस्पताल बनाइने

धनुषा । धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा रहेको दुई सय शय्याको अस्पताललाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याउन लागिएको छ ।
कोरोनाभाइरसको नयाँ भेरियन्टसहित बढ्दो संक्रमणको अवस्थाको बारेमा जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग जिल्ला भित्रका सरकारी, अर्धसरकारी, निजी तथा सामुदायिक अस्पताल र मेडिकल कलेजका प्रतिनिधिबीच भएको छलफलमा मेडिकल कलेजमा रहेको दुई सय शय्यालाई तत्काल कोभिड विशेष अस्पतालको रुपमा प्रयोग गरी सञ्चालनमा ल्याउने निर्णय भएको हो ।
उक्त छलफलमा अस्पतालमा थप सेवा सुविधाका लागि प्रादेशिक अस्पताल, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
महामारी थप व्यापक भई सो अस्पतालले नपुग्ने अवस्था आएमा निजी अस्पताल संघ धनुषाको सहकार्यमा कुनै पनि निजी अस्पताललाई थप कोभिड डेडिकेटेड अस्पताल बनाउन सकिने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रतिक्रिया