देशैभर कस्ताे छ कोरोना संक्रमितको मृत्युकाे अवस्था ?

काठमाडाैं । बाँकेमा अस्पतालमा उपचाररत थप तीनको कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दुई र भेरी अस्पताल नेपालगञ्जमा एक जना गरी तीनको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
डोटीमा शिखर नगरपालिका–१ अन्तर्गतको तेछाडा गाउँ सिल गरिएको छ । केही दिन पहिले छिमेकी मुलुक भारतबाट कामगरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिलगरिएको हो ।
रूपन्देहीको तिलोत्तमा नयाँमिलस्थित प्यारामाउन्टी बोर्डिङ स्कुलमा पढ्ने एक छात्राको कोरोनाका कारण मृत्यु भएको आाशंका गरिएकाे छ । विद्यालयको होस्टेलमा बसेर कक्षा १० मा अध्ययनरत १५ वर्षीया छात्राको शनिबार मृत्यु भएको हो ।
वीरगञ्जको नारायणी अस्पतालमा पनि उपचाररत थप दुई कोराना संक्रमित पुरुषको मंगलबार मृत्यु भएको छ ।
अर्घाखाँचीकाे जिल्ला अस्पतालमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।
यसका साथै देशैभर काेराेना संक्रमित थपिने क्रम पनि जारी छ ।
प्रतिक्रिया