उप-चुनावमा डेढ करोडभन्दा बढी खर्च हुने अनुमान

नेपालखोज २०७८ वैशाख १४ गते १७:०६

काठमाडाैं । राष्ट्रिय सभा सदस्यमा रिक्त एक सिटका लागि जेठ ६ गते हुने उपनिर्वाचनमा एक करोड ६१ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचन सञ्चालनका लागि आर्थिक व्यवस्थापन सम्बन्धमा कार्यविधि तयार पारिएको जनाएको हाे । सोही कार्यविधि अनुसार निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि उक्त खर्च लाग्ने अनुमान गरिएको आयोगले जनाएकाे छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार निर्वाचन आयोग ऐनको दफा २७ र २८ अनुसार उक्त कार्यविधिमा सहमति र अनुमानित बजेट निकासाका लागि अर्थ मन्त्रालयमा पत्राचार गरिएको छ ।

यसैबीच आयोगले बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन ऐनको दफा ७ बमोजिम न्याय परिषद्को परामर्शमा प्राप्त नामावलीका आधारमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्ली रत्न श्रेष्ठलाई निर्वाचन अधिकृत पदमा नियुक्त गरेको छ ।

आयोगका अनुसार वैशाख १६ बाट लागू हुनेगरी श्रेष्ठलाई निर्वाचन अधिकृत नियुक्त गरिएको हो । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य पदबाट रामबहादुर थापा ‘बादल’लाई कारवाही गरेपछि रिक्त रहेको एक सिटमा उपनिर्वाचन हुन लागेको हो । 

प्रतिक्रिया